व्यासहेडलाईनसमाचारगण्डकी

एक महिनासम्म बन्द तनहुँको छाब्दीवाराही मन्दिरमा नियमित पूजा अर्चना सुरु

प्रहार समाचार । तनहुँ, १ भदौ २०८३ सोमबार । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरमा आजदेखि नियमित पूजाआजा सुरु भएको छ । मत्स्य अवतार वाराही देवीका रूपमा श्रद्धापूर्वक पूजा गरिने यस मन्दिरमा एक महिनापछि पूजा पुनः सुरु भएसँगै भक्तजनको चहलपहल बढ्न थालेको छ । छाब्दीवाराही मन्दिर विकास कोषका अध्यक्ष प्रेम थापाका अनुसार साउन महिनाभर देवी गुफामा बस्ने धार्मिक मान्यताअनुसार मन्दिरमा नियमित पूजा बन्द गर्ने परम्परा रहँदै आएको छ ।

धार्मिक आस्था, मौलिक परम्परा र प्राकृतिक सौन्दर्यको संगमका रूपमा रहेको छाब्दीवाराहीमा वर्षभर देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजन दर्शन, पूजाअर्चना तथा भाकल बुझाउन पुग्ने गर्छन् । स्वच्छ र पवित्र मनले देवीसँग भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वासका कारण छाब्दीवाराही धार्मिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको स्थानीय समाजसेवी एवं मन्दिर संरक्षण समितिका सल्लाहकार हिमबहादुर रानाभाटले बताए । मन्दिरमा धार्मिक विधिअनुसार साउन महिनाभर पूजा बन्द हुने मात्र होइन, प्रत्येक एकादशी र औँसीका दिनसमेत नियमित पूजाआजा बन्द रहने परम्परा छ ।

यस्तो परम्पराले छाब्दीवाराहीलाई अन्य धार्मिकस्थलभन्दा विशिष्ट पहिचान दिएको स्थानीयको भनाइ छ । धार्मिक आस्था र परम्परासँग जोडिएको यस क्षेत्रलाई व्यवस्थित रूपमा प्रवर्धन गर्न सके तनहुँको धार्मिक पर्यटन विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । एक महिनापछि खुलेसँगै छाब्दीवाराहीमा दर्शनार्थीको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

प्राकृतिक वातावरण, धार्मिक विश्वास र ऐतिहासिक–सांस्कृतिक परम्परालाई एउटै गन्तव्यमा अनुभव गर्न सकिने भएकाले छाब्दीवाराही तनहुँको प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । यहाँ वार्षिक रूपमा लाखौँ भक्तजन आउने गरेको बताइन्छ । मन्दिर क्षेत्रको पूर्वाधार विकास, प्रचारप्रसार र धार्मिक पर्यटनमैत्री सेवा विस्तार गर्न सके छाब्दीवाराहीलाई देशभरका धार्मिक पर्यटकको थप आकर्षक गन्तव्य बनाउन सकिने स्थानीयको विश्वास छ ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button