प्रहार समाचार । बाजुरा, १ भदौ २०७३ सोमबार । जहाँ सामान्य उपचारका लागि समेत घण्टौँ हिँड्नुपर्ने बाध्यता छ, त्यही विकट गाउँका एक युवा डाक्टर बनेर घर फर्किंदा स्वागत गर्न सिंगो गाउँ उर्लिएको छ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का धनेन्द्र शाही चिकित्सक बनेर गाउँ फर्किएपछि स्थानीयले बाजागाजासहित भव्य स्वागत गरेका हुन्। तस्बिर : स्वास्थ्थ खबर

उनको स्वागतमा देखिएको उत्साह अहिले सामाजिक सञ्जालमा समेत चर्चाको विषय बनेको छ। उनको स्वागतमा गाउँपालिका अध्यक्ष भरतबहादुर रोकाया र उपाध्यक्ष सुलोचना कुमारी भण्डारी (बुढा) तथा वडा नं. ३ का अध्यक्ष प्रेमबहादुर कटेल लगायत अन्य जनप्रतिनिधि, शिक्षाप्रेमी , समाजसेवी तथा शाहीका परिवारजन लगायत सिङ्गो गाउँका मानिसहरुको सहभागिता रहेको थियो । ह धनेन्द्रको सफलताले एउटा व्यक्तिको शैक्षिक उपलब्धिलाई मात्र प्रतिनिधित्व गर्दैन, दुर्गम गाउँका बालबालिकाले देख्ने सपना र त्यसलाई पूरा गर्न सकिन्छ भन्ने बलियो सन्देश दिएको छ। अझै पनि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सहज पहुँचमा नपुगेको कर्णालीपारिको उक्त क्षेत्रमा हुर्किएका शाहीले कठिन परिस्थितिका बीच चिकित्सा शिक्षा पूरा गरेर गाउँमै फर्किनु स्थानीयका लागि गर्वको विषय बनेको छ।
गाउँमा डाक्टर बन्ने सपना आफैँमा ठूलो चुनौती मानिने अवस्थामा धनेन्द्रले हासिल गरेको सफलताले ‘अवसर पाए दुर्गमका छोराछोरीले पनि असम्भव देखिने लक्ष्य पूरा गर्न सक्छन्’ भन्ने उदाहरण प्रस्तुत गरेको छ। उनको स्वागतमा गाउँलेको उत्साह केवल खुशीको अभिव्यक्ति नभई आफ्नै ठाउँबाट जन्मिएको प्रतिभाप्रतिको सम्मान र आगामी पुस्तालाई शिक्षातर्फ अघि बढ्न गरिएको प्रेरणाको सन्देशसमेत हो।
धनेन्द्र गाउँ फर्किएको दृश्यले एउटा गम्भीर प्रश्न पनि उठाएको छ—दुर्गमका गाउँमा उपचार खोज्न अझै टाढा पुग्नुपर्ने बाध्यता कहिलेसम्म? गाउँकै माटोमा हुर्किएको एक युवा डाक्टर बनेर फर्किनु गर्वको विषय भए पनि अब उनको ज्ञान र सीपबाट गाउँलेले आफ्नै ठाउँमा स्वास्थ्य सेवा पाउने वातावरण बनाउन राज्यको ध्यान जान जरुरी छ। धनेन्द्रको यात्रा एउटा व्यक्तिको सफलता मात्र होइन, दुर्गम गाउँबाट पनि ठूलो सपना देख्न र पूरा गर्न सकिन्छ भन्ने प्रेरणादायी कथा हो।















