हेडलाईनसमाचारगण्डकी

लमजुङका नागरिकको प्रश्न : सवारी अराजकता र लागुऔषध नियन्त्रणमा प्रहरीको जवाफ

• विजय अधिकारी ( संवाददाता) लमजुड, ३० साउन २०८३ शनिबार । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा प्रहरीले आयोजना गरेको नागरिक सुनुवाइमा स्थानीयले शान्तिसुरक्षाभन्दा दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका समस्या उठाएका छन् । सवारी नियमको बेवास्ता, बढ्दो दुर्घटनाको जोखिम र युवामा फैलिँदै गएको लागुऔषध दुर्व्यसनप्रति नागरिकले गम्भीर चासो व्यक्त गर्दै प्रभावकारी प्रहरी निगरानी र नियन्त्रणको माग गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङको आयोजना तथा मर्स्याङ्दी गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा स्थानीयले यात्रुको सुरक्षा, सवारी सञ्चालनमा हुने नियम उल्लङ्घन तथा दुर्घटना न्यूनीकरणका विषयमा प्रहरीको ध्यानाकर्षण गराए । युवाहरू लागुऔषधको दुर्व्यसनतर्फ आकर्षित हुँदै गएको भन्दै यसको नियन्त्रणमा प्रहरी, स्थानीय सरकार, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको उनीहरूको जोड थियो ।

कार्यक्रममा उठेका प्रश्न तथा गुनासालाई जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत र गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले सम्बोधन गरेका थिए ।प्रनाउ बस्नेतले शान्ति–सुरक्षा कायम गर्ने जिम्मेवारी प्रहरीको भए पनि अपराध नियन्त्रण र सामाजिक विकृति न्यूनीकरणमा नागरिकको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताए । गलत गतिविधि देखे तत्काल प्रहरीलाई सूचना दिन, आवश्यक सुझाव तथा सल्लाह उपलब्ध गराउन र अनुसन्धानमा सहयोग गर्न आग्रह गर्दै उनले सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीच निरन्तर सहकार्य आवश्यक रहेको बताए । उनले ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने कार्यमा नागरिकको सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको प्रमुख आतिथ्यतामा तथा प्रनाउ बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर लमजुङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय लमजुङका प्रमुख अनुसन्धान अधिकृत रामशंकर केसी, वडाध्यक्षहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख गौतम खत्रीलगायत पत्रकार, विभिन्न संघसंस्था तथा स्थानीयको सहभागिता थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार कार्यक्रममा ७७ जनाको उपस्थिति रहेको थियो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button