हेडलाईनव्याससमाचारबन्दीपुरगण्डकीविजनेस

बन्दीपुर–केशवटार होमस्टे सर्किटको सुरुवात — गाउँ–गाउँमा पर्यटन पुर्‍याउने अभियान शुरु

तनहुँ । पहाडकी रानी बन्दीपुरबाट व्यास नगरपालिका–१४ केशवटारसम्म जोड्ने लक्ष्यसहित होमस्टे सर्किट तथा पर्यटन प्रवर्धन कार्यक्रम सुरु भएको छ । बन्दीपुर र व्यास नगरपालिकाबीच पर्यटनमार्फत आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानले ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।


कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बन्दीपुर–केशवटार सर्किटलाई योजनाबद्ध रूपमा अघि बढाउन सके तनहुँको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने उल्लेख गरे । उनले स्थानीय उत्पादन, कला–संस्कृति र मौलिक पहिचानलाई पर्यटनसँग जोड्दै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुरबाट सुरु भएको होमस्टे अवधारणालाई केशवटारसम्म विस्तार गर्नु सकारात्मक पहल भएको बताउँदै दीगो पर्यटन विकासका लागि सहकार्य आवश्यक रहेको उल्लेख गरे ।


तनहुँका अग्रज पर्यटनविद् हरिसिंह गुरुङले नेपालकै पहिलो व्यवस्थित होमस्टे सर्किटको रूपमा यस मार्गलाई विकास गर्न सकिने सम्भावना रहेको बताए । उनका अनुसार बन्दीपुर, रामकोट, कुलुङ, केशवटार, रुम्सी, धरमपानी, कमलबारी, कोरीखा, बन्दीपुरका तीनधारा, बिन्दबासिनी क्षेत्र, बन्दीपुर सामुदायिक होमस्टे तथा मोहोरिया सामुदायिक होमस्टेलाई जोड्दै एकीकृत पर्यटन गन्तव्य बनाउने लक्ष्य लिइएको छ ।

बन्दीपुर गाउँपालिकाका पर्यटन शाखा प्रमुख सुरज भट्टराईले यो सर्किटले गाउँ–गाउँमा पर्यटक पुर्‍याई स्थानीय अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गरे ।


व्यास–१४ का वडा अध्यक्ष निरकाजी आलेले केशवटार क्षेत्रलाई पर्यटकीय नक्सामा स्थापित गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । होमस्टे महासंघ गण्डकी प्रदेशका पूर्व अध्यक्ष राजु बानियाँले समुदायमा आधारित पर्यटनले ग्रामीण जीवनस्तर उकास्ने उल्लेख गर्दै सर्किट अवधारणालाई प्रदेशस्तरमै विस्तार गर्नुपर्ने धारणा राखे । रुम्सी होमस्टेका अध्यक्ष सन्तोष रानाले पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढ्दो क्रममा रहेको बताउँदै सडक स्तरोन्नति भए अझ सहज हुने बताए ।


रुम्सी टोल विकास संस्थाका अध्यक्ष रणबहादुर थापाका अनुसार उक्त क्षेत्रमा करिब १ सय १० घरधुरीमध्ये ९० घरधुरी मगर समुदायका छन् भने बाँकी दलित बस्ती रहेको छ । रुम्सी सामुदायिक होमस्टेले स्थानीय संस्कृति, परिकार र जीवनशैलीमार्फत पर्यटक आकर्षित गर्दै आएको छ । होमस्टेका उपाध्यक्ष यामबहादुर आलेले समुदायको सक्रियताले होमस्टे थप सशक्त बन्दै जाने बताए ।


परिचयात्मक भ्रमण कार्यक्रममा व्यास नगरपालिकाकी सदस्य नरिमाया आलेसहित बन्दीपुर गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, पर्यटन शाखा, पर्यटनविद् हरिसिंह गुरुङ र सञ्चारकर्मी गरी २३ जनाको सहभागिता रहेको छ ।


बन्दीपुर–केशवटार होमस्टे सर्किट तथा पर्यटन प्रवर्धन कार्यक्रमको सुरुवातसँगै तनहुँका ग्रामीण बस्तीहरूलाई एउटै पर्यटकीय डोरीमा गाँस्ने प्रयास अघि बढेको छ । अब पूर्वाधार विकास, प्रचार–प्रसार र समन्वयमा जोड दिन सकिए, यो सर्किट गण्डकी प्रदेशकै नमुना पर्यटन मार्ग बन्ने अपेक्षा गरिएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button