• विजय अधिकारी (संवाददाता) प्रहार समाचार ।लमजुङ, १४ चैत २०८२ शनिबार । लमजुङको दोर्दी गाउँपालिका–५ साँधीखोलामा बुधबार बिहान भएको बन्चरो प्रहार घटनामा गम्भीर घाइते भएका तीन जना मध्ये एक व्यक्तिको मृत्यू भएको छ।

बन्चरो प्रहार बाट घाइते भएका ७२ वर्षीय गर्वलाल गुरुङको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । बिहान करिब साढे ५ बजेतिर ४५ वर्षीय वकन गुरुङले आफ्नै घरभित्रै श्रीमतीसहित तीन जनामाथि बन्चरो प्रहार गरेका थिए। घाइते गर्वलाललाई सुरुमा बेंसीसहरस्थित प्रदेश अस्पतालमा उपचार गरिए पनि अवस्था जटिल बनेपछि भरतपुर लगिएको थियो, तर त्यहाँ उपचार सम्भव नभएपछि फर्काइएका उनको अन्ततः ज्यान गएको प्रहरीले जनाएको छ।
उक्त घटनामा घाइते १० वर्षीय अनमोल गुरुङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने वकनकी श्रीमती ४५ वर्षीया चिजमाया गुरुङ प्रदेश अस्पताल लमजुङमै उपचाररत छन्। चिजमायाको बायाँ हात र पेटमा गम्भीर चोट लागेको छ भने अनमोलको टाउकोमा चोट लागेको छ। प्रहरीका अनुसार श्रीमतीमाथि प्रहार सुरु गरेका वकनले उनलाई जोगाउन पुगेका अनमोल र पछि गर्वलालमाथि समेत आक्रमण गरेका थिए।
प्रारम्भिक अनुसन्धान अनुसार सामान्य घरायसी विवादले उग्र रूप लिँदा घटना भएको देखिएको छ। स्थानीयका अनुसार वकन केही महिनादेखि बिरामी थिए र मानसिक समस्या समेत देखिएको थियो भने घरमा पूजा गर्ने–नगर्ने विषयमा पनि विवाद हुने गरेको थियो। प्रहरीले घटनालगत्तै वकनलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अशिषेक पाण्डेले जानकारी दिए ।



























