प्रहार समाचार । काठमाडौँ, १३ चैत २०८२ शुक्रबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती प्रशासनभित्र आफ्ना नाम जोडेर चलाइँदै आएका समूह र अभियानप्रति कडा असहमति जनाउँदै त्यस्ता गतिविधिबाट टाढा रहन स्पष्ट चेतावनी दिएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार जारी गरेको विज्ञप्तिमा कर्मचारी संगठनको नाममा रास्वपाको छवि प्रयोग गरेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा रास्वपाले सुरुदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने अडान लिँदै आएको स्मरण गराएको छ। हालै सम्पन्न आम निर्वाचनमा पनि निजामती सेवालाई तटस्थ र निष्पक्ष बनाउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको उल्लेख गर्दै पार्टीले प्रशासनलाई कुनै पनि दलगत प्रभावबाट मुक्त राख्नुपर्नेमा जोड दिएको छ।
रास्वपाले निजामती सेवाभित्र गठन भएका कुनै पनि समूह, अभियान वा युनियन शैलीका संयन्त्रसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। “हाम्रो नाम जोडेर कसैले आफ्नो स्वार्थ पूरा गर्न खोजेको भए त्यसमा नअल्झिनुहोस्,” विज्ञप्तिमा भनिएको छ। पार्टीले कर्मचारीहरूलाई कुनै पनि राजनीतिक प्रभावमा नपरी निष्पक्ष रूपमा जनताको सेवामा केन्द्रित हुन आग्रह गरेको छ।
रास्वपाले ‘मेरिटोक्रेसी’ अर्थात् योग्यता प्रणालीका आधारमा प्रशासन सञ्चालन हुनुपर्ने आफ्नो मूल धारणा दोहोर्याउँदै विगतमा देखिएका त्रास, दबाब र दलीय प्रभावको संस्कृतिको अन्त्य हुनुपर्नेमा जोड दिएको छ। प्रशासनलाई शक्ति केन्द्रको छायाबाट मुक्त गर्दै जनताको हितमा समर्पित बनाउनुपर्ने भन्दै पार्टीले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवार र तटस्थ भूमिका निर्वाह गर्न आह्वान गरेको छ।



























