प्रहार समाचार । काठमाडौँ, १३ चैत २०८२ शुक्रबार । अन्ततः धेरै राजनीतिक उतारचढावपछि रास्वपाका वरिष्ट नेता बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार औपचारिक रूपमा गठन भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा शाहसहित मन्त्रीमण्डलका सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाएसँगै ‘नयाँ राजनीतिक प्रयोग’को सुरुवात भएको छ। परम्परागत दलहरूप्रति बढ्दो असन्तुष्टिबीच उदाएको रास्वपाले अब प्रत्यक्ष रूपमा सत्ता सञ्चालनको जिम्मा सम्हालेको हो।

यो सरकारको विशेषता भनेको ‘नयाँ अनुहार र फरक पृष्ठभूमि’ हो। गृह मन्त्रालय जस्तो शक्तिशाली जिम्मेवारी जेन–जी आन्दोलनबाट चर्चामा आएका सुधन गुरुङलाई दिइएको छ।

अर्थ मन्त्रालयमा अर्थशास्त्री छवि बनाएका स्वर्णिम वाग्ले छन् ।

भने परराष्ट्रमा पार्टीकै रणनीतिकार शिशिर खनालले जिम्मेवारी सम्हालेका छन्। यसले सरकार ‘टेक्नोक्र्याट र राजनीतिक मिश्रण’को रूपमा अगाडि बढ्ने संकेत गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा साहित्यकार छवि बनाएका खडकराज पौडेल, श्रममा मधेस केन्द्रित राजनीति गर्दै आएका दीपक साह, शिक्षामा काठमाडौं–५ बाट निर्वाचित युवा सांसद सस्मित पोखरेल र सूचना प्रविधिमा बिक्रम तिमिल्सिनालाई जिम्मेवारी दिइएको छ। सामान्य प्रशासनमा पत्रकारिता पृष्ठभूमिकी प्रतिभा रावल, ऊर्जामा विराजभक्त श्रेष्ठ, कृषिमा गीता चौधरी र कानुनमा अधिवक्ता सोविता गौतमले स्थान पाएका छन्।
त्यस्तै महिला तथा बालबालिकामा सीता बादी र भौतिक पूर्वाधारमा सुनील लम्साल नियुक्त भएका छन्। विविध पृष्ठभूमिका यी मन्त्रीहरूले ‘पुरानो शैलीको राजनीति’लाई चुनौती दिने अपेक्षा गरिएको छ। तर अनुभवको अभाव, प्रशासनिक संयन्त्रसँगको समन्वय र तत्काल परिणाम दिने दबाबले यो सरकारलाई सुरुवातमै कडा परीक्षामा राख्ने देखिन्छ। रास्वपाको यो सरकार केवल सत्ता परिवर्तन मात्र होइन, ‘राजनीतिक संस्कार परिवर्तन’को परीक्षण पनि हो। जनताले आशा गरेको सुशासन, पारदर्शिता र परिणाममुखी काम अब कागजमा होइन, व्यवहारमा देखिनुपर्नेछ। अब हेर्न बाँकी छ – बालेन नेतृत्वले उत्साहलाई उपलब्धिमा बदल्न सक्छ कि पुरानै रोगले नयाँ सरकार पनि ग्रसित हुन्छ। मन्त्रिपरिषद् गठन र कार्य विभाजन यस प्रकार रहेको छ :




























