प्रहार समाचार । काठमाडौं, १२ चैत २०८२ बिहीबार । भोलि शुक्रबार हुने बालेन्द्र शाहको प्रधानमन्त्री शपथ यसपटक सामान्य औपचारिकता मात्रै होइन, शैली र सन्देश दुवैमा फरक देखिने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथका लागि मञ्च नै फेरिएको छ—पहिल्यैदेखि प्रयोग हुँदै आएको स्थान छाडेर उत्तर फर्किएको नयाँ मञ्च तयार पारिएको छ । बालेनकै चाहनामा मञ्चको दिशा परिवर्तन गरिएको स्रोत बताउँछ, जसले शपथ समारोहलाई सुरुमै ‘ब्रेकिङ परम्परा’ बनाइदिएको छ ।

सबैभन्दा चासोको केन्द्र बनेको छ—समय । रामनवमीको दिन ठीक १२:३४ बजे ‘म…’ उच्चारण गर्दै शपथ सुरु गर्ने गरी कार्यक्रम मिलाइएको छ । एक मिनेट तलमाथि नहुने गरी मिलाइएको यो साइतका लागि राष्ट्रपति कार्यालयले रिहर्सलसमेत गरिसकेको छ । १२:१५ देखि १२:३३ सम्म सबै औपचारिक प्रक्रिया सकाएर ३४ मिनेटमै शपथ सुरु गरिनेछ—‘टाइमिङ’मै राजनीति देखिने गरी ।
शपथ समारोहलाई सांस्कृतिक रंग दिन पनि विशेष तयारी गरिएको छ । मञ्चमा नेवारी, मैथली, किराँत लगायत विविध जातीय पहिचान झल्किने कलाचित्र राखिनेछ । बटुकको स्वस्तिवाचन, बौद्ध भिक्षुको मंगलवाचन र शंखध्वनिसहित शपथलाई परम्परा र आधुनिकताको मिश्रण बनाउने प्रयास छ । बालेन स्वयं दौरा–सुरुवाल, भादगाउँले टोपी र किराँत पहिचानको सिलाम साक्मामा देखिने तयारीमा छन्, जसले उनको ‘सांस्कृतिक सन्देश’ स्पष्ट पार्छ ।
यता, भव्यता घटाएर सन्देश दिने तयारी पनि उत्तिकै स्पष्ट छ । करिब दुई हजार पाहुना बोलाइए पनि जलपान हटाएर चिया र बिस्कुटमै सीमित गरिएको छ—सरकारको मितव्ययिता नीतिको संकेतका रूपमा । शपथ सकिएलगत्तै बालेन सिंहदरबार पुगेर पदभार सम्हाल्नेछन्, जहाँबाट उनको ‘नयाँ शैलीको शासन’ सुरु हुने अपेक्षा गरिएको छ ।



























