व्यासहेडलाईनसमाचारगण्डकी

दमौली खानेपानी उपभोक्ता संस्थाको साधारण सभा : योजना पास, पुराना कर्मचारी सम्मानित

प्रहार समाचार । तनहुँ,१२ चैत २०८२ बिहीबार । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १५औँ वार्षिक साधारण सभा विभिन्न निर्णय गर्दै बुधबार सम्पन्न भएको छ। साधारण सभाले आगामी कार्ययोजना, बजेट तथा संस्थागत सुधारका प्रस्तावहरू पारित गर्दै संस्थालाई थप व्यवस्थित बनाउने दिशा तय गरेको छ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख तथा संस्थाका पूर्व अध्यक्ष शान्तिरमण वाग्लेले खानेपानी व्यवस्थापनलाई पारदर्शी र दिगो बनाउनु पर्नेमा जोड दिए। उनले उपभोक्ताको विश्वास कायम राख्दै सेवा प्रवाह सुधार गर्नुपर्ने आवश्यकता औंल्याए। त्यस्तै, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले खानेपानी सेवा जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको गुणस्तर र पहुँच विस्तारमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताए।

कार्यक्रममा गण्डकी प्रदेशकी पूर्व सांसद सरिता गुरुङ, व्यास नगरपालिकाकी पूर्व उप–मेयर मिरा जोशी, संस्थाका सल्लाहकार बृषराज श्रेष्ठ तथा विभिन्न राजनीतिक दलका नगर सभापतिहरू चुडामणि दाहाल (रास्वपा), सूर्यचन्द्र हड्खले (नेका), तुलसीराम पाण्डे (एमाले) र गोपाल सुर्खाली (नेकपा) ले खानेपानी सेवा प्रभावकारी, दिगो र सर्वसुलभ बनाउन सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

साधारण सभामा संस्थाका सचिव योगिता कायस्थ श्रेष्ठले वार्षिक प्रगति विवरण प्रस्तुत गरिन् भने कोषाध्यक्ष चिरौंकाजी बतासले आर्थिक प्रतिवेदन पेश गरेका थिए। कार्यक्रमकै अवसरमा लामो समयदेखि संस्थामा कार्यरत कर्मचारी तथा प्लम्बर बुद्धिबहादुर दराईलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव योगिता कायस्थ श्रेष्ठले गरेकी थिइन्।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button