प्रहार समाचार । तनहुँ, ३० फागुन २०८२ शनिबार । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको नेतृत्व परिवर्तन भएको छ । क्याम्पस व्यवस्थापन समितिको आज बसेको बैठकले अन्तमान श्रेष्ठलाई क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

क्याम्पस व्यवस्थापन समितिले शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित श्रेष्ठलाई क्याम्पसको नेतृत्व सुम्पिएको जनाएको छ । पछिल्ला वर्षहरूमा उच्च शिक्षा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र गुणस्तरीय शिक्षाको मागलाई मध्यनजर गर्दै क्याम्पसको समग्र सुधारका लागि सक्षम नेतृत्व आवश्यक रहेको भन्दै समितिले श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।
स्थानीय स्तरमा उच्च शिक्षाको केन्द्रका रूपमा स्थापित भानुभक्त बहुमुखी क्याम्पसले शुक्लागण्डकीसहित आसपासका क्षेत्रका विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको छ । नेतृत्व परिवर्तनसँगै क्याम्पसको शैक्षिक गुणस्तर, प्रशासनिक व्यवस्थापन र पूर्वाधार विकासमा थप गति आउने अपेक्षा गरिएको छ ।
नवनियुक्त क्याम्पस प्रमुख श्रेष्ठले क्याम्पसलाई शैक्षिक रूपमा अझ सक्षम र प्रतिस्पर्धी बनाउने, विद्यार्थीमैत्री वातावरण सुदृढ गर्ने तथा क्याम्पसको दीर्घकालीन विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले क्याम्पस व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा सरोकारवाला सबै पक्षसँग सहकार्य गर्दै संस्थाको उन्नयनका लागि सक्रिय रूपमा अघि बढ्ने बताए ।



























