हेडलाईनसमाचारगण्डकीविजनेसशुक्लागण्डकी

कृषि र पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राख्दै तनहुँमा शुक्लागण्डकी महोत्सव हुने

प्रहार समाचार । तनहुँ, ३० फागुन २०८२ शनिबार । तनहुँको शुक्लागण्डकी क्षेत्रमा कृषि, पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धनलाई केन्द्रमा राख्दै पाँचौँ शुक्लागण्डकी महोत्सव आयोजना हुने भएको छ। चैत ६ गतेदेखि १७ गतेसम्म भानुभक्त क्याम्पस परिसरमा सञ्चालन हुने महोत्सवको तयारी करिब ९० प्रतिशत पूरा भइसकेको महोत्सव मूल आयोजक समितिले जनाएको छ।

‘आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, शुक्लागण्डकी महोत्सव कला, सिप र सँस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको महोत्सवले स्थानीय उत्पादन, कला–संस्कृति र पर्यटन सम्भावनालाई उजागर गर्ने अपेक्षा गरिएको छ। मूल आयोजक समितिका अध्यक्ष समुद्रराम श्रेष्ठका अनुसार यसपटक महोत्सवमा कृषि उत्पादन, घरेलु उद्योग तथा स्थानीय उद्यमलाई विशेष प्राथमिकता दिइनेछ।

स्थानीय स्तरमा उत्पादन हुने कृषि उपज, रैथाने परिकार तथा घरेलु उद्योगका सामग्रीलाई बजारसँग जोड्ने उद्देश्यले कृषि तथा घरेलु उद्यमका स्टलहरूलाई विशेष स्थान दिइने आयोजकले जनाएको छ। महोत्सवमा विभिन्न क्षेत्रका गरी १ सय ७५ व स्टल रहनेछन्। महोत्सवमार्फत शुक्लागण्डकी क्षेत्रका धार्मिक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्ने लक्ष्य पनि आयोजकले राखेको छ।


आयोजकका अनुसार महोत्सव अवधिभर करिब २ लाख दर्शक तथा पर्यटक भित्र्याउने लक्ष्य रहेको छ भने महोत्सव सञ्चालनपछि करिब ६ लाख ५० हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ। यसले स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ।
महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रमहरू पनि समावेश गरिएका छन्। पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः २ लाख, १ लाख र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई ५/५ हजार रुपैयाँ दिइनेछ।


त्यसैगरी नृत्य प्रतियोगितामा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने रत्यौली प्रतियोगितामा प्रथमलाई २५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १५ हजार रुपैयाँ पुरस्कार तोकिएको छ। पछिल्लो समय युवामाझ लोकप्रिय सामाजिक सञ्जाललाई लक्षित गर्दै महोत्सवमा टिकटक रिल प्रतियोगिता समेत आयोजना गरिने महोत्सवका प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button