प्रहार समाचार । काठमाडौं, ३० फागुन २०८२ शनिबार ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो। केही समयदेखि अस्वस्थ रहेका उनलाई भक्तपुरको गठ्ठाघरस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको थियो।निधनपछि उनको पार्थिव शरीर भक्तपुरको गुण्डुस्थित ओली निवासमा राखिएको थियो, जहाँ आफन्त, छिमेकी तथा एमालेका नेता–कार्यकर्ताहरूले पुगेर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए।

लामो समयसम्म साधारण जीवन बिताएका मोहनप्रसाद ओली परिवारप्रति समर्पित र शान्त स्वभावका अभिभावकका रूपमा चिनिने गरेका थिए।शुक्रबार नै काठमाडौँको पशुपतिनाथस्थित आर्यघाटमा उनको अन्त्येष्टि गरिएको थियो। अन्त्येष्टिमा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। नेपाली कांग्रेसका सभापति गगन थापा पनि आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गरेका थिए।

यसबीच आज भने अध्यक्ष ओली पार्टीको नियमित राजनीतिक गतिविधिमा सहभागी भएका छन्। पिताको निधनपछि शोकमा रहेका ओली शनिबार नेकपा (एमाले)को बैठकमा सहभागी भएका छन्। पार्टीका नेताहरूका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, समानुपातिक सूची र पार्टीका आगामी कार्यक्रमबारे छलफल भइरहेको छ।

यसअघि हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्रबाट पराजय व्यहोरेका ओलीलाई बुबाको निधनले थप भावनात्मक पीडा थपिएको बताइएको छ। यद्यपि, उनी आज पार्टीको बैठकमा उपस्थित भएर राजनीतिक गतिविधिलाई निरन्तरता दिइरहेका छन्।



























