प्रहार समाचार । तनहुँ, ३० फागुन २०८२ शनिबार सामुदायिक रेडियो प्रसारक संघ नेपाल गण्डकी प्रदेशको छैटौँ साधारणसभा दमौलीमा सुरु भएको भएको छ। देशभर सञ्चालनमा रहेका ३ सय ५० भन्दा बढी सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपालको गण्डकी प्रदेश समितिले आयोजना गरेको उक्त कार्यक्रममा सामुदायिक रेडियोहरूको भूमिका, चुनौती र भविष्यका योजनाबारे व्यापक छलफल र परामर्श गरिने भएको छ।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामुदायिक रेडियोहरू स्थानीय जनताको आवाज लाई प्राथमिकतामा राख्दै सामुदायिक रेडियोहरुले सशक्त माध्यम भएको उल्लेख गर्दै लोकतन्त्रको सुदृढीकरणमा यिनको महत्वपूर्ण भूमिका रहेको बताए।

गण्डकी प्रदेश प्रेस रजिष्टार बिमला भण्डारीले सञ्चार क्षेत्रको विश्वसनीयता कायम राख्न जिम्मेवार र तथ्यमा आधारित पत्रकारितामा जोड दिनुपर्ने बताइन्। उनले सामुदायिक रेडियोहरूले स्थानीय तहका मुद्दा, सूचना र जनचासोका विषयलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता पनि औँल्याइन्।

अकोरावका पूर्व उपाध्यक्ष गोविन्द देवकोटा तथा अकोराव एशिया प्यासिफिकका उपाध्यक्ष सुवास खतिवडाले सामुदायिक रेडियोहरूलाई प्रविधि, स्रोत साधन र जनशक्ति व्यवस्थापनमा थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। पर्यटन विद् हरिसिंह गुरुङले ग्रामिण पर्यटन प्रवर्धनमा रेडियोहरुको भूमिका अतुलनिय रहेको उल्लेख गरेका थिए । वरिष्ट पत्रकार गंगाधर पराजुलीले समय सापेक्ष रेडियोका कार्यक्रमहरु सकारात्मक तथा र संन्देशमूलक हुनु पर्ने बताए ।

केन्द्रीय सदस्य नविनराज पौडेलले सामुदायिक रेडियोहरूले स्थानीय भाषा, संस्कृति र पहिचान जोगाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए।

साधारणसभामा संघका पूर्व अध्यक्ष सुवास खतिवडा, कोषाध्यक्ष तुला अधिकारी तथा उपाध्यक्ष शान्ता थापा र दलित पत्रकार संघ गण्डकीका अध्यक्ष पूर्ण विकले समावेशी सञ्चार अभ्यासमा सामुदायिक रेडियोहरूको भूमिका अझ सशक्त बनाउनुपर्ने धारणा व्यक्त गरे।

गण्डकी प्रदेश अध्यक्ष ओमकार आचार्यको सभापतित्वमा भएको कार्यक्रमको सचिव मोतिसागर अधिकारीले सहजिकरण गरेका थिए। कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका सामुदायिक रेडियोका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
साधारणसभाले सामुदायिक रेडियोहरूको दिगोपन, क्षमता विकास र स्थानीय मुद्दाको प्रभावकारी उठानका विषयमा समेत छलफल तथा नीतिगत निर्णयहरु गरिने बताइएको छ ।



























