हेडलाईनसमाचारगण्डकी

गोरखाको मनकामना दर्शन गरेर फर्किँदै गरेको दर्शनार्थी सवार हाइस् दुर्घटना : ८ जनाको मृत्यु, ८ घाइते

प्रहार समाचार । गोरखा, ३० फागुन २०८२ शनिबार । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किँदै गरेका भारतीय नागरिक सवार हाइस् गाडी दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । शनिबार राति करिब ८ बजेतिर गोरखाको शहिद लखन गाउँपालिका–३ कन्टार नजिक दुर्घटना भएको हो ।

सडकबाट करिब १५० देखि २०० मिटर तल गाडी खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन गाउँपालिका–३ का वडाध्यक्ष दिपक पाण्डेका अनुसार गाडीमा १५ जना भारतीय नागरिक सवार थिए । दुर्घटनामा ८ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकी ८ जनाको जीवितै उद्धार गरिएको छ ।


घाइतेमध्ये ७ जनाको तनहुँको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई थप उपचारका लागि चितवनको भरतपुर रिफर गरिएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनापछि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएर उद्धार कार्य गरिएको थियो । केही शव निकाल्न सशस्त्र प्रहरी परिचालन गर्नुपरेको वडाध्यक्ष पाण्डेले बताए ।


प्रारम्भिक अनुमानअनुसार ओरालो र अप्ठ्यारो सडक खण्डमा गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने जनाइएको छ । निर्माणाधीन सडक, ढलान गरिएको चिप्लो मोड तथा वर्षा भइरहेका कारण चालकले गाडी नियन्त्रणमा राख्न नसक्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । उक्त गाडी नियमित रुटको नभएकाले चालकलाई सडकको अवस्थाबारे पर्याप्त जानकारी नभएको हुन सक्ने पनि बताइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button