प्रहार समाचार । तनहुँ, २४ माघ २०८२ शनिबार । आईसीसी टी–२० विश्वकपको १०औं संस्करण आज (शनिबार)देखि शुरू हुँदैछ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुन लागेको विश्वकपका खेलहरू यी दुई देशका विभिन्न शहरमा सञ्चालन हुनेछन् भने प्रतियोगिता मार्च ८ तारिखसम्म चल्नेछ। दुई राष्ट्र मिलेर टी–२० विश्वकप आयोजना गरिएको यो तेस्रो अवसर हो। यसअघि सन् २०२१ मा यूएई र ओमान तथा सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए।

टी–२० विश्वकपको इतिहास हेर्दा हालसम्म केवल ६ राष्ट्रले मात्र उपाधि जित्न सकेका छन्। भारत, वेस्ट इन्डिज र इङ्ल्यान्डले दुई–दुईपटक विश्वकप जित्दा पाकिस्तान, श्रीलंका र अस्ट्रेलियाले एक–एकपटक उपाधि चुमेका छन्। भारतले सन् २००७ र २०२४, वेस्ट इन्डिजले सन् २०१२ र २०१६ तथा इङ्ल्यान्डले सन् २०१० र २०२२ मा विश्वकप जितेका थिए। पाकिस्तानले सन् २००९, श्रीलंकाले सन् २०१४ र अस्ट्रेलियाले सन् २०२१ मा उपाधि आफ्नो नाममा लेखाएका हुन्।
यस संस्करणको विश्वकपमा इङ्ल्यान्ड, भारत, वेस्ट इन्डिज, अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाको १०औं सहभागिता रहनेछ। आयरल्यान्ड नवौं र अफगानिस्तान आठौंपटक विश्वकप खेल्न लागेका छन् भने नेदरल्यान्ड्स, स्कटल्यान्ड र जिम्बाब्वेले सातौंपटक सहभागिता जनाउँदैछन्। छोटो फर्म्याटका कारण हरेक खेल निर्णायक बन्न सक्ने भएकाले यसपटक पनि विश्वकप अप्रत्याशित नतिजा र रोमाञ्चले भरिने अपेक्षा गरिएको छ।

























