प्रहार समाचार । काठमाडौँ, २३ माघ २०८२ शुक्रबार । हरारे स्पोर्ट्स क्लबमा आज सम्पन्न आईसीसी मेन्स अन्डर–१९ विश्वकप २०२६ को फाइनलले भारतीय युवा टोलीको निरन्तर प्रभुत्वलाई पुनः पुष्टि गरेको छ । फाइनलमा भारतले इंग्ल्यान्डलाई १०० रनले पराजित गर्दै कीर्तिमानी छैटौँ पटक विश्वकपको उपाधि जित्न सफल भयो । ठूलो मञ्चमा दबाबलाई अवसरमा बदल्दै भारतले लगातार छैटौँ तथा समग्रमा दशौँ पटक फाइनल खेल्ने उपलब्धिसमेत कायम गर्यो ।

भारतको जितमा वैभव सूर्यवंशी नायक बने । उनले खेलेको १७५ रनको विस्फोटक इनिङ्सले भारतलाई विशाल ४१२ रनको स्कोरसम्म पुर्यायो । निर्धारित ओभरमा चुनौतीपूर्ण लक्ष्य तय गरेपछि भारतीय बलरहरूले पनि अनुशासित प्रदर्शन गर्दै इंग्ल्यान्डमाथि निरन्तर दबाब सिर्जना गरे । लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको टोली ४०.२ ओभरमै ३११ रनमा समेटियो ।
यस जितसँगै भारतले सन् २०००, २००८, २०१२, २०१८ र २०२२ पछि फेरि उपाधि आफ्नो नाममा लेखायो ।
अर्कोतर्फ, इंग्ल्यान्डको अन्डर–१९ विश्वकप यात्रा भने निराशाजनक फाइनलसँगै टुंगिएको छ । इंग्ल्यान्डले यस प्रतियोगिताको उपाधि अहिलेसम्म केवल एक पटक, सन् १९९८ मा न्यूजिल्यान्डलाई हराउँदै जितेको थियो । हरारेको फाइनलले युवा क्रिकेटमा भारतको गहिरो संरचना र निरन्तर सफलता फेरि एकपटक उजागर गरेको छ ।

























