प्रहार समाचार । तनहुँ, २३ माघ २०८२ शुक्रबार । नेवाः समुदायको मौलिक संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यसहित तनहुँको दमौलीमा ईही (वेल विवाह) यज्ञ आयोजना हुने भएको छ। नव दुर्गा भवानी मन्दिर संरक्षण समिति व्यास–३, सृजना टोल दमौलीको आयोजनामा माघ २७ गते दुर्गा भवानी मन्दिर परिसरमा उक्त कार्यक्रम हुन लागेको हो। नेवार कन्याहरूको धार्मिक विधि र संस्कारलाई सामूहिक रूपमा सम्पन्न गराउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

समितिका अनुसार ईही यज्ञ बिहान ८ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सहभागी हुन इच्छुक अभिभावकहरूले समयमै आफ्ना कन्याहरूको नाम दर्ता गराउन आग्रह गरिएको छ। दर्ता शुल्क २ हजार तोकिएको छ भने बेल, लठ्ठी र भ्वाँचा भने समितिले नै उपलब्ध गराउने व्यवस्था गरिएको छ। एकाघरका कन्याहरू सहभागी भएमा ५०० रुपैया छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममा सहभागी कन्याहरूका लागि आवश्यक पूजा सामग्री, प्रसाद, रातो कपडा, काँचो धागो, चकटीलगायत सामग्री आफैंले ल्याउनुपर्नेछ। साथै कन्यालाई नुहाईधुवाई गरी चोखो कपडा र श्रृंगारसहित उपस्थित गराउनुपर्ने उल्लेख गरिएको छ। कन्या दानका लागि बुवा, काका, अजा वा पाजु जो भए पनि सोही दिन उपस्थित हुनुपर्ने धार्मिक मान्यताअनुसार व्यवस्था मिलाइएको छ।
समितिका अध्यक्ष केश कमारी राना मगर (कासी) ले नेवाः समुदायको पहिचान र संस्कारलाई पुस्तान्तरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन्। कोषाध्यक्ष कोपिला थापा र सचिव ठाकुर प्रसाद पौडेलले समुदायको सक्रिय सहभागिताबाट कार्यक्रम सफल हुने विश्वास व्यक्त गरेका छन्। धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको ईही यज्ञले दमौली क्षेत्रको सांस्कृतिक गतिविधिलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।



























