हेडलाईनसमाचारप्रदेश

बैतडी बस दुर्घटना : घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने

प्रहार समाचार । बैतडी, २३ माघ २०८२ शुक्रबार । बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँमा भएको बस दुर्घटनापछि सुदूरपश्चिम प्रदेश सरकारले घाइतेहरूको उपचारमा पूर्ण जिम्मेवारी लिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारी अस्पतालमा उपचाररत सबै घाइतेको औषधोपचार खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको हो। दुर्घटनामा परी घाइते भएका व्यक्तिहरू हाल विभिन्न अस्पतालमा उपचाररत छन्। दुर्घटनामा ज्यान गुमाएका १३ जनाका परिवारलाई प्रदेश सरकारले मानवीय सहायतास्वरूप जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ।

बिहीबार राति बैतडीबाट जन्ती लिएर बझाङतर्फ जाँदै गरेको बस दुर्घटनामा पर्दा ३५ जना घाइते भएका थिए। तीमध्ये केहीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौँ लैजानुपर्ने अवस्था आए हेलिकोप्टर व्यवस्थापनका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको जनाइएको छ।


यसैबीच, मुख्यमन्त्री कमलबहादुर शाहले दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रदेश सरकार पीडितको साथमा रहेको स्पष्ट पार्नुभएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button