हेडलाईनसमाचारप्रदेश

बैतडीमा जन्ती बोकेको बस दुर्घटना : १३ जनाको ज्यान गयो, अन्य धेरै घाइते

प्रहार समाचार । बैतडी, २३ माघ २०८२ शुक्रबार । बैतडीमा बिहे सकेर जन्ती लिएर फर्किँदै गरेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् ।

पुर्चौडी नगरपालिका–७ भबनेबाट बझाङतर्फ फर्किँदै गरेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस बिहीबार साँझ करिब ८ बजे पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा ८ जनाको घटनास्थलमै र ५ जनाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार घटनास्थलमै मृत्यु हुनेमा बझाङ बिथडचिर गाउँपालिका–७ का ४० वर्षीय केशव राज जोशी, १३ वर्षीय अशोक रराज जोशी, ३५ वर्षीय बसन्त जोशी र ४६ वर्षीय किसनदत्त जोशी रहेका छन् । यस्तै, बझाङ केदारस्युँ गाउँपालिका–७ का ६० वर्षीय मोहन देव भट्ट, बझाङ जयपृथ्वी नगरपालिका का ४० वर्षीय बसन्तराज रताला तथा बैतडी पुर्चौडी नगरपालिका–७ की ४० वर्षीया पुष्पा अवस्थीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु हुनेमा बझाङ बिथडचिर गाउँपालिका–७ का १७ वर्षीय किसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बझाङ केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीय केशव राज भट्ट र बैतडी पुर्चौडी नगरपालिका–७ की १५ वर्षीया सुशिला जोशी रहेका छन् । दुर्घटनामा ज्यान गुमाउने सबै जन्तीका आफन्त तथा स्थानीयवासी रहेको जनाइएको छ ।


दुर्घटनामा घाइते भएका ३२ जनामध्ये केहीको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई डडेल्धुरा अस्पताल, सेती प्रादेशिक अस्पताल धनगढी तथा बझाङका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । घाइतेहरूको उद्धार नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा गरिएको थियो ।


प्रारम्भिक अनुसन्धान अनुसार कच्ची र उकालो सडकमा क्षमताभन्दा बढी यात्रु तथा भार बोकेको बस अचानक ब्याक हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका–७ निवासी वीरन्द्र बुढा प्रहरी नियन्त्रणमा छन् । दुलहा–दुलही भने अर्काे सवारी साधनमा रहेकाले सुरक्षित रहेको प्रहरीले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button