हेडलाईनसमाचारगण्डकी

चुनावी सुरक्षामा चुनौती, लमजुङमा हतियार बुझाउने आदेशको बेवास्ता

• बिजय अधिकारी (प्रहार संवाददाता ) लमजुङ, २२ माघ २०८२ बिहीबार । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा लमजुङमा इजाजत प्राप्त हातहतियार संकलन अपेक्षित रूपमा हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले पुनः सात दिनको ताकेता गरेको छ । प्रशासनले माघ २० भित्र हतियार बुझाउन पहिलो पटक सूचना जारी गरे पनि १५ दिनमा जम्मा ७८ थान मात्र संकलन भएपछि बुधबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले म्याद थप्ने निर्णय गरेको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन हतियार संकलन अनिवार्य रहेको प्रशासनको भनाइ छ ।

प्रशासनका अनुसार पछिल्लो तीन वर्षमा मात्रै ४ सय ५० भन्दा बढी हातहतियार नवीकरण भएका छन् भने लमजुङमा कुल १ हजार ५ सय २७ जनाले हतियार राख्ने अनुमति लिएका छन् । तर, सूचनापछि अत्यन्तै कम संख्यामा मात्र हतियार बुझाइनु चिन्ताको विषय बनेको छ । कतिपय हतियार कागजमै सीमित रहेको, केही द्वन्द्वकालमा हराएको वा लुटिएको हुन सक्ने आशंका प्रशासनले गरेको छ । गत आर्थिक वर्षमा मात्रै १ सय १२ थान अवैध हतियार संकलन हुनु पनि अवस्थाको गम्भीर संकेत हो ।


जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले तोकिएको समयमा इजाजत प्राप्त हतियार अनिवार्य रूपमा बुझाउन आग्रह गर्दै अटेरी गरे कानुनी कारबाही हुने चेतावनी दिएका छन् । हतियार पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको र नवीकरण नभएका हतियार अवैध मानिने प्रशासनले स्मरण गराएको छ । चुनावी सुरक्षालाई लिएर प्रशासन कडाइमा उत्रिए पनि नागरिकको उदासीनताले सुरक्षा चुनौती बढ्न सक्ने देखिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button