हेडलाईनसमाचारभानुगण्डकीसूचना प्रविधि

कृतिम बौद्धिकता तर्फ अगाडि बढ्दै तनहुँको भानु नगरका शिक्षकहरू

प्रहार समाचार । तनहुँ, १८ माघ २०८२ आइतबार । तनहुँको भानु नगरपालिकाले विद्यालय शिक्षालाई प्रविधिसँग जोड्ने उद्देश्यसहित शिक्षकहरूका लागि कृतिम बौद्धिकता (एआई) सम्बन्धी तीनदिने तालिम सुरु गरेको छ ।

हिंजोदेखि सुरु भएको तालिमको उद्घाटन गर्दै नगर प्रमुख आनन्दराज त्रिपाठीले समयअनुसार शिक्षक अपडेट नहुँदा शिक्षा प्रणाली नै पछि पर्ने खतरा औँल्याए। उनका अनुसार एआईजस्ता प्रविधि सही तरिकाले प्रयोग गर्न सके विद्यालय शिक्षा व्यवहारिक, जीवनोपयोगी र प्रतिस्पर्धी बन्न सक्छ। कार्यक्रममा नगर उपप्रमुख उमा गोतामे र नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले तालिमको उद्देश्य र अपेक्षित उपलब्धिबारे जानकारी गराए।


सानोठिमी क्याम्पस, भक्तपुरका उपप्राध्यापक विश्वराज जोशी प्रशिक्षक रहेको तालिममा कक्षाकोठामा एआईको प्रयोग, पाठयोजना निर्माण, शिक्षण सामग्री विकास, मूल्याङ्कन सरल बनाउने तरिका र विद्यार्थी प्रगति विश्लेषणबारे अभ्यास भइरहेको छ। नगर शिक्षा अधिकारी पौडेलका अनुसार आजका विद्यार्थी डिजिटल वातावरणमै हुर्किएकाले परम्परागत शिक्षण शैली मात्र पर्याप्त छैन। एआईको प्रयोगले शिक्षण–सिकाइलाई अन्तरक्रियात्मक, विद्यार्थीकेन्द्रित र प्रभावकारी बनाउन सकिने सहभागी शिक्षकहरूको भनाइ छ।


चालु आर्थिक वर्ष २०८२/०८३ मा समावेश गरिएको यो तालिम तीन चरणमा सञ्चालन हुँदैछ। प्रत्येक चरणमा ३० जना शिक्षकका दरले कुल ९० जनालाई तालिम दिने लक्ष्य छ। पहिलो र दोस्रो चरण भानु नगरपालिकाको सभाहल फुस्रेटारमा र तेस्रो चरण भानु–१० रामपुरटारस्थित चोक माध्यमिक विद्यालयमा हुने जनाइएको छ। शिक्षामा एआईको प्रयोगमार्फत विद्यार्थीलाई सीपयुक्त, आत्मनिर्भर र भविष्यका चुनौती सामना गर्न सक्षम बनाउने नगरपालिकाको पहललाई शिक्षकहरूले समयसापेक्ष र आवश्यक कदमका रूपमा लिएका छन्।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button