हेडलाईनसमाचारसबै प्रदेशस्वास्थ्य

ओखलढुङ्गाकी सुत्केरी र नवजातको उद्धारमा हवाई सेवा

प्रहार समाचार । काठमाडौँ, १८ माघ २०८२ आइतबार । दुर्गम भेगमा अझै पनि सुरक्षित स्वास्थ्य सेवामा पहुँच चुनौतीपूर्ण बनेका बेला राज्यको हवाई उद्धार सेवा सुत्केरी महिला र नवजात शिशुको जीवनरक्षाको भरोसा बनेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय महिला सशक्तीकरण परियोजना मार्फत हिंजो ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–३ की एक सुत्केरी महिला र उनको नवजात शिशुलाई थप उपचारका लागि काठमाडौं ल्याइएको नेपाली सेनाले जनाएको छ।


स्थानीय स्वास्थ्य संस्थामा आवश्यक उपचार सम्भव नभएपछि मन्त्रालयको समन्वयमा नेपाली सेनाको हवाई साधन प्रयोग गरी आमा–शिशुलाई राजधानीस्थित विशिष्ट स्वास्थ्य संस्थामा सुरक्षित रूपमा स्थानान्तरण गरिएको जनाइएको छ।
दुर्गम पहाडी क्षेत्रमा सडक सञ्जाल र विशेषज्ञ स्वास्थ्य सेवा सीमित हुँदा गर्भावस्था र सुत्केरी अवस्थाका जटिल केसहरू अझै पनि उच्च जोखिममा पर्ने गरेका छन्। यस्तो अवस्थामा हवाई उद्धार कार्यक्रमले समयमै उपचारको पहुँच सुनिश्चित गर्दै आएको स्वास्थ्यकर्मीहरू बताउँछन्।


सरकारी तथ्यांकअनुसार, हवाई उद्धार सेवाबाट पछिल्ला वर्षहरूमा सयौं गर्भवती तथा सुत्केरी महिलाहरूले नयाँ जीवन पाएका छन्। सरोकारवालाहरूले यस्ता कार्यक्रमलाई अझ प्रभावकारी र नियमित बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन्।


दुर्गम क्षेत्रका नागरिकका लागि राज्यको उपस्थिति अनुभूत गराउने यो हवाई उद्धार सेवा अहिले जीवन र आशाको सेतु बनेको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button