प्रहार समाचार । तनहुँ, १८ माघ २०८२ आइतबार । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँमा निर्वाचन प्रहरीको तालिम सुरु गरिएको छ। जिल्लाको शान्ति सुरक्षा र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण मानिएको उक्त तालिमको आज औपचारिक उद्घाटन गरिएको हो। तस्बिरहरु : प्रहार अनलाईन मिडिया

व्यास नगरपालिका–५ पाटनस्थित खेल मैदानमा आयोजित तालिमको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले उद्घाटन गर्दै निर्वाचन भनेको लोकतन्त्रको मेरुदण्ड भएकोले सुरक्षाकर्मीको व्यावसायिकता, तटस्थता र कानुनी मर्यादाभित्र रहेर काम गर्ने क्षमता नै सफल निर्वाचनको आधार हुनेमा जोड दिए। उनले निर्वाचन प्रहरीलाई कुनै पनि प्रभाव, दबाब र प्रलोभनबाट टाढा रहँदै जनताको मताधिकार सुरक्षित गर्न निर्देशन दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले निर्वाचन सुरक्षा चुनौतीपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै समन्वय, अनुशासन र तत्काल निर्णय क्षमताले मात्र सुरक्षालाई प्रभावकारी बनाउन सकिने बताए। उनले तालिमलाई गम्भीरताका साथ लिन प्रशिक्षार्थीहरूलाई आग्रह गरे।

सूचना अधिकार एवं तालिम संयोजक प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले प्रहरीको मतहतमा रहेर निर्वाचन प्रहरीहरुले आफ्नो आचारसंहिता पालना गर्दै अनुशासित भएर निर्वाचन सुरक्षामा कटिबद्ध भएर लाग्नु पर्नेमा जोड दिए ।

द्घाटन कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, प्रशिक्षकहरू, सञ्चारकर्मी तथा निर्वाचन प्रहरीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रशिक्षार्थीहरूको बसोबासलाई ध्यानमा राख्दै तनहुँका इलाका प्रहरी कार्यालय आबुखैरेनी, बेलचौतारा, भानु र बन्दीपुर लगायत स्थानहरूमा समेत एकैसाथ तालिम उद्घाटन गरी प्रशिक्षण सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तालिम आजबाट दश दिन सम्म सञ्चालन हुने छ।

निर्वाचनको मिति नजिकिँदै जाँदा तनहुँमा सुरक्षा तयारी तीव्र पारिएको देखिन्छ। प्रहरी प्रशासनको यो तयारीले जिल्लामा शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न हुने अपेक्षा गरिएको छ।


























