हेडलाईनविचारसबै प्रदेश

मर्यादापुरुष श्रीरामको जन्मसन्दर्भ र तनहुँ जिल्लाका राम मन्दिरहरू

‘गण्डकी स्नान सहज होस् भनी श्रीरामले गुल्मीको रेसुङ्गामा रामकुवा र तनहुँको ऋषिङमा अजम्बरी कुवा निर्माण गरिदिएको जनश्रुति पाइन्छ। त्यहाँबाट पशुपतिनाथ दर्शनतर्फ जाने क्रममा मनपाङ र श्याम्घा बीचको स्थानमा केही समय बास बसेकाले उक्त स्थान रामकोट कहलिएको भनाइ छ। त्यसैगरी बुल्दी र शिसाखोलाले घेरिएको थुम्कीमा बास बसेकाले उक्त स्थान रामथुम्की नामले परिचित भएको जनविश्वास छ।’- भन्दै देव बस्न्यात लेख्छन् :

विषय प्रवेश :
रामनवमी हरेक सनातन हिन्दु धर्मावलम्बीहरूको महान पर्व हो। यो पर्व प्रत्येक वर्ष चैत्र शुक्ल पक्षको नवमी तिथिमा पर्दछ। रामनवमी मर्यादापुरुष श्रीरामको जन्मदिनको रूपमा श्रद्धा र भक्ति सहित मनाइन्छ। दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी जनकल्याणको मार्ग प्रशस्त गर्ने श्रीरामको स्मृतिमा यस दिन नजिकको जलाशयमा स्नान गरी राममन्दिरमा गई पूजा–आराधना गर्ने परम्परा हाम्रो समाजमा प्राचीन कालदेखि नै चलिआएको छ।

तनहुँ जिल्लामा अवस्थित व्यास नगरपालिका–१ गल्बुबेसी कमलडिहीको राममन्दिर, व्यास–३ शिवपाञ्चायन मन्दिरस्थित श्रीराम मन्दिर, व्यास–११ रामथुम्कीस्थित श्रीराम मन्दिर, ऋषिङ गाउँपालिकाको रामजाकोट, अजम्बरी कुवा र श्रीराम मन्दिर, म्याग्दे गाउँपालिका र व्यास नगरपालिका वडा नं. ६ को सीमामा रहेको रामकोटको राममन्दिर, बन्दीपुर गाउँपालिकाको सीतापाइला, देवघाट गाउँपालिकास्थित सराङघाट र देवघाटधामका श्रीराम मन्दिरहरू, साथै चितवन जिल्लाको माडी नगरपालिका अन्तर्गत पर्ने अयोध्यापुरीस्थित श्रीराम मन्दिरमा आज पनि नियमित रूपमा पूजा–अर्चना, भजन तथा प्रार्थना हुँदै आइरहेको छ।


मर्यादापुरुष श्रीरामको जन्मसन्दर्भ :
मर्यादापुरुष श्रीरामको जन्म कहिले र कहाँ भयो भन्ने विषयमा विद्वानहरूबीच विभिन्न मत प्रचलित छन्। भारतमा गङ्गा नदी किनारको साकेत भूमिलाई श्रीरामको जन्मभूमि मानिन्छ। यसैगरी, नेपालका चितवन जिल्लाको अयोध्यापुरीलाई श्रीरामको जन्मस्थल भएको दाबी गर्नेहरू पनि छन्। नेपालका निवर्तमान प्रधानमन्त्री के.पी. शर्मा ओलीले गुल्मी जिल्लाको रेसुङ्गामा श्रीरामको जन्म भएको धारणा व्यक्त गर्नुभएको छ।
तर पौराणिक सन्दर्भ र जनविश्वासका आधारमा हेर्दा आदर्शपुरुष श्रीरामको जन्म तनहुँ जिल्लाको सारङघाटसँग जोडिएको देखिन्छ। अयोध्याका राजा दशरथलाई सन्तान नभएपछि राजगुरु वशिष्ठको सल्लाहअनुसार हाल देवघाट गाउँपालिका वडा नं. ३ अन्तर्गत पर्ने ऋष्यश्रृङ्ग महाभारत पर्वतमा तपस्या गरिरहेका ऋषि श्रृङ्गीले गोमती तालको किनारमा रहेको सारङघाटमा पुत्रेष्टि महायज्ञ गराएका थिए। उक्त यज्ञबाट प्राप्त पायस तथा ऋष्यश्रृङ्ग पर्वतमा पाइने पुत्रवती जडीबुटी अयोध्याका महारानीहरूलाई सेवन गराइएकाले जेठी रानी कौशल्याबाट श्रीराम, माइली रानी कैकेयीबाट भरत तथा कान्छी रानी सुमित्राबाट लक्ष्मण र शत्रुघ्न गरी चार पुत्रको जन्म भएको कुरा वाल्मीकि रामायणमा उल्लेख छ।


यसर्थ, “राम तनहुँमा र तनहुँ राममा” एक–अर्काका पूरक हुन् भन्न सकिन्छ। सारङघाट र अयोध्यालाई जोड्ने धार्मिक तथा सांस्कृतिक सर्किट निर्माण गर्न आवश्यक देखिन्छ।


तनहुँ जिल्लामा मर्यादापुरुष श्रीरामका पाइला :
आजभन्दा करिब १५ हजार वर्षअघि अयोध्याका राजा दशरथका पुत्र श्रीराम आफ्नी धर्मपत्नी सीता र भाइ लक्ष्मणसहित मुक्तिनाथ दर्शनका लागि कालीगण्डकी मार्ग हुँदै मुस्ताङ पुगेको जनविश्वास छ। मुक्तिनाथ दर्शन पश्चात् फर्कने क्रममा उनले आफ्नी दिदी शान्ता र ज्वाइँ ऋषि श्रृङ्गीलाई भेट्न गुल्मीको रेसुङ्गा तथा ऋषिङ पुगेका थिए।


गण्डकी स्नान सहज होस् भनी श्रीरामले गुल्मीको रेसुङ्गामा रामकुवा र तनहुँको ऋषिङमा अजम्बरी कुवा निर्माण गरिदिएको जनश्रुति पाइन्छ। त्यहाँबाट पशुपतिनाथ दर्शनतर्फ जाने क्रममा मनपाङ र श्याम्घा बीचको स्थानमा केही समय बास बसेकाले उक्त स्थान रामकोट कहलिएको भनाइ छ। त्यसैगरी बुल्दी र शिसाखोलाले घेरिएको थुम्कीमा बास बसेकाले उक्त स्थान रामथुम्की नामले परिचित भएको जनविश्वास छ। भोलिपल्ट श्रीराम, सीता र लक्ष्मण रामथुम्कीबाट देउराली हुँदै छिर्कनेको बाटो भएर बन्दीपुरतर्फ लाग्दा बाटोमा बसेको अर्को स्थानलाई पनि रामकोट भनिन्छ। यही रामकोटबाट सुकौरास्थित पानीको दहलाई बाण प्रहार गरी सुकाइदिएको र “सुक्यो–रह” भन्ने शब्दबाट सुकौरा नाम रहन गएको जनोक्ति स्थानीयवासीहरूबाट सुन्न पाइन्छ।
अन्त्यमा :
जहाँ–जहाँ श्रीराम पुगे, त्यहाँ–त्यहाँ रामकृपा रहेको विश्वास गरिन्छ। यही विश्वासका आधारमा तनहुँका राजा भृङ्गी सेनले रामथुम्कीमा राम मन्दिर निर्माण गराएका थिए। समयक्रममा जीर्ण बनेको उक्त मन्दिरलाई धरमपानी गाउँ पञ्चायतका प्रधानपञ्च बलराम शास्त्री (भट्टाराई), नारायणदत्त भट्टराई तथा मुक्तिनाथ भट्टराईले जीर्णोद्धार गरेका थिए। तर हाल पुनः मन्दिर जीर्ण अवस्थामा पुगेको छ, जसको संरक्षणमा सबै सरोकारवालाको ध्यान जान आवश्यक छ।


भट्टराई परिवारसहित अन्य ब्राह्मण, क्षेत्री, दुरा तथा रुचाल परिवारको सक्रियता अझै अपेक्षित देखिन्छ। आफ्ना कुलायन देवताको पूजा गर्दै आएका यी परिवारहरूले आफ्ना आराध्यदेव मर्यादापुरुष श्रीरामको मन्दिर संरक्षण र पुनर्निर्माणमा ध्यान दिन सकेमा यहाँ देखिएका विभिन्न बाधा–व्यवधान हटेर सुख, शान्ति र अमनचयन कायम हुने विश्वास गर्न सकिन्छ। रामकोटबाट पूर्वतर्फ छिम्केश्वरी देवीको दर्शन गर्न जाने क्रममा बाहुनभञ्ज्याङ नपुग्दै (हाल गुरुङ समुदायले ‘क्योहोइवो’ बनाएको स्थान नजिकै) सीतापाइला नामक स्थान पर्दछ। यही बाटो हुँदै श्रीरामले बन्दीपुरको खड्गमाई, छिम्केश्वरी, गोरखाको बूढीभगवती, मनकामना, चितवनको इच्छाकामना र काठमाडौंको पशुपतिनाथ दर्शन गरी अयोध्या फर्किएको पौराणिक कहावत प्रचलित छ।

(• तनहुँ दमौलीका बस्न्यात इतिहास, परम्परा , संस्कार र संस्कृतिका विषयमा कलम चलाउँछन् । )


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button