हेडलाईनसमाचारसबै प्रदेशखेलकुद

विश्वकपअघि नेपालको आत्मविश्वास उचाइमा, एमसिए प्रेसिडेन्ट–११ फेरि पराजित

आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेलमार्फत आफ्नो लय बलियो बनाएको छ। भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध लगातार दोस्रो जित निकाल्दै नेपालले विश्वकपअघि सकारात्मक सन्देश दिएको हो। आज भएको दोस्रो अभ्यास खेलमा नेपालले ४८ रनको फराकिलो जित हात पार्‍यो। यसअघि पहिलो खेलमा पनि नेपालले सात विकेटको सहज जित निकालेको थियो।

टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा पाँच विकेट गुमाउँदै १८३ रनको चुनौतीपूर्ण योगफल बनायो। आरिफ शेखले धैर्य र आक्रामकता मिसिएको इनिङ खेल्दै ४२ बलमा अविजित ६६ रन जोडे। सन्दीप जोराले ३१ रन बनाए भने आशिफ शेख, गुल्सन झा, लोकेश बम र बसिर अहमेदले उपयोगी योगदान दिए। मध्यक्रमको स्थिर ब्याटिङले नेपाललाई बलियो अवस्थामा पुर्‍यायो।


१८४ रनको लक्ष्य पछ्याएको एमसिए प्रेसिडेन्ट–११ नेपाली बलरहरूसामु दबाबमा देखियो। मुलचन्दनीले सर्वाधिक ४७ रन बनाए पनि अन्य ब्याट्सम्यान खुलेर खेल्न सकेनन्। सन्दीप लामिछानेको धारिलो बलिङले खेल नेपालतर्फ मोडियो। उनले तीन विकेट लिए भने ललित राजवंशी र गुल्सन झाले दुई–दुई विकेट हात पार्दै एमसिएलाई १३८ रनमै रोकिदिए।
लगातार दुई अभ्यास जितसँगै नेपाल अब विश्वकपतर्फ केन्द्रित भएको छ। विश्वकपअघि नेपालले चेन्नईमा फेब्रुअरी ३ मा युएई र फेब्रुअरी ५ मा क्यानडासँग वार्मअप खेल खेल्ने तालिका छ। भारत र श्रीलंकामा हुने विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ, जहाँ इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीजस्ता बलिया टोली छन्। फेब्रुअरी ८ मा इङ्ल्यान्डविरुद्ध हुने पहिलो खेललाई नेपाली टोलीले ठूलो चुनौती र अवसर दुवैका रूपमा लिएको छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button