प्रहार समाचार । काठमाडौं, २७ बैशाख २०८३ आइतवार । थलपति विजय तमिलनाडुको नयाँ मुख्यमन्त्री बनेका छन्। लोकप्रिय अभिनेता विजयले आइतबार चेन्नईस्थित नेहरू स्टेडियममा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका हुन्। तमिल चलचित्र उद्योगका चर्चित अभिनेता विजयले राजनीतिमा सक्रिय प्रवेश गरेपछि स्थापना गरेको पार्टीले हालैको चुनावमा उल्लेखनीय सफलता हासिल गरेको थियो।

सरकार गठनका लागि आवश्यक समर्थन जुटाएपछि तमिलनाडुका राज्यपालले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।शपथग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेता, चलचित्रकर्मी तथा हजारौँ समर्थकको उपस्थिति रहेको थियो। विजयले शपथपछि जनताको विश्वासलाई सम्मान गर्दै सुशासन, रोजगारी, शिक्षा र विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।राजनीतिमा नयाँ अध्याय सुरु गरेका विजयको मुख्यमन्त्री बन्ने घटनाले भारतभर चर्चा पाएको छ। सामाजिक सञ्जालमा पनि उनका समर्थकहरूले उत्साह व्यक्त गर्दै उनलाई बधाई दिएका छन्।




















