प्रहार समाचार । काठमाडौं, २८ बैशाख २०८३ सोमवार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्स को विमानको चक्कामा आगलागी भएको छ । सोमबार बिहान इस्तानबुलबाट काठमाडौं आएको उक्त विमान ल्याण्ड गर्ने क्रममा दायाँपट्टिको पाङ्ग्रामा आगो देखिएको विमानस्थल स्रोतले जनाएको छ । घटनालगत्तै दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो ।

विमानमा चार बालबालिकासहित २७७ यात्रु तथा ११ जना चालक दलका सदस्य सवार रहेका थिए । पाइलटले आपत्कालीन ढोका खोलेपछि सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । घटनाको जानकारी पाएलगत्तै नेपाली सेना उद्धारमा खटिएको थियो । सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार ७० जना सैनिक परिचालन गरेर करिब २८० यात्रुको सकुशल उद्धार गरिएको हो । हाल विमान धावनमार्गमै रहेकाले रनवे बन्द गरिएको छ । त्यसका कारण अन्तर्राष्ट्रिय उडान तथा अवतरण प्रभावित भएका छन् ।




















