प्रहार समाचार । तनहुँ, १६ माघ २०८२ शुक्रबार । तनहुँको व्यास नगरपालिका–५, कण्टार निवासी दलित अधिकारकर्मी यमबहादुर विक क्यान्सरसँग जुधिरहेका छन् । पेट दुखाइबाट सुरु भएको रोगले अहिले उनलाई जीवन–मरणको दोसाँधमा पुर्याएको छ । उपचार खर्च धान्न नसक्दा उनको उपचार नै रोकिने अवस्थामा पुगेको परिवारले जनाएको छ ।

गत असोजमा पेट दुखेपछि उपचारका लागि अस्पताल पुगेका विकको सुरुमा पोखराको मणिपाल हस्पिटलमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई भरतपुरस्थित विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल रिफर गरिएको थियो । अस्पतालले विकलाई आन्द्राको क्यान्सर भएको पुष्टि गरेको छ ।
हाल अस्पतालमै बसेर किमोथेरापी गराइरहेका विकको उपचारमा ठूलो आर्थिक संकट देखिएको छ । सामाजिक क्षेत्रमा क्रियाशील रहे पनि आर्थिक रूपमा विपन्न विकले अहिलेसम्म भएको सम्पूर्ण जायजेथा उपचारमै खर्च भइसकेको परिवारले बताएको छ । आफन्त र छोराले सकेको सहयोग गरे पनि अब थप उपचार खर्च जुटाउन नसकिने अवस्था आएको उनीहरूको भनाइ छ ।
“सरकारले दिने विपन्न उपचार सुविधा पनि रोकिएको छ, बीमाले पनि पर्याप्त सहयोग नगरेपछि उपचार नै प्रभावित भएको छ,” परिवारजनले दुःखेसो गरे । अस्पताल बसाइ, औषधि र नियमित किमोले खर्च धान्न नसक्ने भएपछि अब के गर्ने भन्ने चिन्ताले परिवारलाई पिरोलेको छ ।
५७ वर्षीय विक कृषि पेशामा आवद्ध रहँदै दलित अधिकार र सामाजिक न्यायका पक्षमा निरन्तर सक्रिय रहँदै आएका व्यक्ति हुन् । तर दीर्घ रोगले थलापारेपछि उनी र उनको परिवार राज्य र समाज दुवैतिरबाट उपेक्षित भएको महसुस गरिरहेका छन् ।
उपचार निरन्तरताका लागि तत्काल आर्थिक सहयोग आवश्यक रहेको बताउँदै विकले आफ्नो जीवन रक्षाका लागि सबै पक्षसँग सहयोगको अपिल गरेका छन् । समयमै सहयोग नपाए उपचार नै रोकिने खतरा बढ्दै गएको परिवारको भनाइ छ ।
























