प्रहार समाचार । तनहुँ, १६ माघ २०८२ शुक्रबार । तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा आयोजना गरेको ‘व्यास नगर अल्ट्रा म्याराथन २०८२ मा नेपाली सेनाका धावकहरूले क्लिन स्वीप गरेका छन्। ४४ किलोमिटर लामो उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय तीनै स्थान नेपाली सेनाका खेलाडीले हात पारेका हुन्।

प्रतियोगितामा बझाङका करन रावलले उत्कृष्ट प्रदर्शन गर्दै सबैभन्दा कम समयमा दुरी पूरा गरी प्रथम स्थान हासिल गरे। त्यसैगरी रामेछापका तिलकबहादुर सुनुवार द्वितीय र रामेछापकै होमलाल श्रेष्ठ तृतीय स्थानमा रहे। तीनै जना विजेता नेपाली सेनाका धावक हुन्।
विजेतालाई नगर प्रमुखसहितका पदाधिकारीहरूले नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए। नगरपालिकाका अनुसार प्रथम हुनेलाई ८५ हजार ८२ रुपैयाँ, द्वितीयलाई ६५ हजार ८२ रुपैयाँ र तृतीयलाई ५५ हजार ८२ रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
व्यास नगरपालिका–५ स्थित पर्यटकीय स्थल मानुङकोटबाट सुरु भएको म्याराथन दमौली बजार हुँदै विभिन्न वडाहरू पार गरी व्यास नगरपालिका–८ स्थित पुलिमराङ (सहिद पार्क) मा पुगेर समापन भएको थियो। खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने र सहिदहरूको योगदानको स्मरण गर्ने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष माघ १६ गते यो प्रतियोगिता आयोजना गर्दै आएको छ। प्रतियोगितामा देशभरका विभिन्न जिल्ला तथा विभागीय टोलीका धावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

























