प्रहार समाचार । तनहुँ, १५ माघ २०८२ बिहीबार । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित सेती नदी किनार क्षेत्रमा एकै दिन तीन जनाको शव फेला परेको सनसनीपूर्ण घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। गत पुस २६ गते बिहान फोहोर प्रशोधन केन्द्र नजिकको बगर क्षेत्रमा रहेको अस्थायी छाप्रोभित्र अन्दाजी ५५ वर्षका एक अज्ञात पुरुष धारिलो हतियार प्रहारबाट मृत अवस्थामा फेला परेका थिए भने सोही छाप्रो बाहिर ३९ वर्षीय नारायण बि.क.को पनि हत्या भएको पुष्टि भएको थियो।

यस्तै सोही दिन दिउँसो करिब १ बजे घटनास्थलबाट करिब १.५ किलोमिटर दक्षिण–पूर्व कसेरीघाट नजिक ५८ वर्षीया देउमाया थापाको शव पनि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा फेला परेपछि तीनै घटनाबीच आपसी सम्बन्ध रहेको आशंका बलियो बनेको थियो। शवको प्रकृति र स्थानगत दूरीले एकै व्यक्तिबाट फरक–फरक स्थानमा हत्या भएको हुन सक्ने प्रहरी निष्कर्ष प्रारम्भिक रूपमा रहेको छ।
घटनाको गम्भीरता हेर्दै तालिमप्राप्त कुकुर, डिओसिओ टोली, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा केन्द्रीय विधिविज्ञान प्रयोगशालाका विज्ञसहितको टोलीले संयुक्त रूपमा अनुसन्धान गरेको थियो। घटनास्थल तथा लाशजाँच प्रक्रिया पूरा गरी तीनै शवको पोस्टमार्टम प्रदेश अस्पताल दमौली, तनहुँमा गरिएको छ। मृतक देउमाया थापा र नारायण बी.क.को शव आफन्तलाई बुझाइसकिएको छ भने अज्ञात पुरुषको सनाखतका लागि हुलिया परिपत्र गरी शव गृहमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।
यसैबीच, पीडितका आफन्तले शुक्लागण्डकी–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि उनलाई मुख्य अरोपितका रूपमा पक्राउ गरिएको हो। पोस्टमार्टम रिपोर्ट, फरेन्सिक प्रतिवेदन र संकलित प्रमाणका आधारमा तनहुँ जिल्ला अदालतबाट सात दिनको हिरासत म्याद थप भई हाल ईलाका प्रहरी कार्यालय बेलचौताराबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँ का सूचना अधिकारी डिएसपी श्रवण कुमार विकले जानकारी दिए । घटनासँग सम्बन्धित चक्कु, कपडा, चप्पललगायतका सामग्री बरामद भइसकेका छन्।
प
























