प्रहार समाचार । तनहुँ, १५ माघ २०८२ बिहीबार । तनहुँको व्यास नगरपालिकाले पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको पहिचान गर्ने उद्देश्यसहित आठौँ व्यास नगर अल्ट्रा म्याराथन–२०८२ भोलि हुने भएको छ। प्रतियोगितामा विभिन्न जिल्लाका ४२ धावकहरु सहभागी हुने भएका छन् ।

भोलि बिहान ७ः३० बजे सुरु हुने प्रतियोगिता व्यास–५ स्थित मानहुँकोटबाट प्रारम्भ भई व्यास–८ पुलिमराड शहीद स्मारक पार्कमा पुगेर समापन हुनेछ। मानहुँकोट सिद्ध मार्ग, अलैचे, चापाघाट, पृथ्वीराजमार्ग, दुर्गा मन्दिर, अनसन चौतारी, सोतीवेसी, रिस्ती, बाहुनपोखरा लगायतका विभिन्न ऐतिहासिक तथा ग्रामीण क्षेत्र हुँदै दौड आयोजना गरिनेछ। लामो र चुनौतीपूर्ण रुटले व्यास नगरका पर्यटकीय सम्भावना बोकेका क्षेत्रलाई राष्ट्रियस्तरमा चिनाउने व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले विश्वास लिएका छन् ।

प्रतियोगितामा प्रथम हुने धावकले ८५ हजार ८२ रुपैयाँ, द्वितीयले ६५ हजार ८२ रुपैयाँ र तृतीयले ५५ हजार ८२ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। पाँच जनालाई जनही १६ हजार ८२ रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिने नगर खेलकुद समितिका संयोजक जिवन गुरुङ (कुमार) ले जानकारी दिए । छ व्यास नगरपालिका, नगर खेलकुद समिति तथा शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
























