चुनाव नजिकिँदै छ । आज साँझसम्म सबै राजनीतिक दलहरूले निर्वाचन आयोगमा आफ्ना उम्मेदवारको नामावली दर्ता गर्दैछन् । कागजमा उम्मेदवार दर्ता हुँदैछन्, तर मन र चेतनामा चाहिँ प्रश्नहरू अझै अपूरा छन् । मतदाता जाग्दै त छन्, तर त्यो चेतना अझै आधामै सीमित देखिन्छ । पुराना पार्टी र व्यवस्थाप्रति असन्तुष्टि छ, तर नयाँ विकल्प छान्दा पनि स्पष्ट मापदण्ड बन्न सकेको छैन ।

हामी प्रायः रिसमा भोट हाल्छौं, विवेकले होइन । प्रतिक्रिया दिन्छौं, तर मूल्याङ्कन गर्न चुक्छौं । समर्थन र विरोध भावनाले निर्देशित हुन्छ, तथ्य र तर्कले होइन । तर लोकतन्त्र भावनाको खेल होइन, जिम्मेवारीको अभ्यास हो । उम्मेदवारको योग्यता केवल डिग्रीमा सीमित हुँदैन । डिग्रीसँगै ज्ञान, अनुभव, नीति निर्माणमा योगदान, आचरण, इमानदारी र नियत—यी सबै मिलेर मात्रै साँचो योग्यता बन्छ ।
जब यस्तो योग्यता बोकेको व्यक्ति केवल पार्टीको झन्डाका कारण पराजित हुन्छ, त्यो हार कुनै एक व्यक्तिको हुँदैन । त्यो देशको हार हुन्छ । सक्षम मान्छेहरू चुनाव हार्दै जाने र चटके, लोकप्रियतामुखी र अवसरवादी पात्रहरू जित्दै जाने क्रम अब रोक्नैपर्छ । यो भावना होइन, समयको अनिवार्य माग हो ।
देश बनाउने कि बिगार्ने निर्णय मतदान पेटिकामा मात्र निर्भर हुँदैन, त्यो मतदाताको चेतनामा निर्भर हुन्छ । चेतना कति बढ्यो भन्ने कुरा भाषण र नाराबाट होइन, चुनावमा गरिएको छनोटबाट देखिन्छ । “विकास भएन” भन्ने गुनासो मात्र पर्याप्त होइन । विकास कति भयो ? सही दिशामा भयो कि गलत ? जति हुनुपर्ने थियो, त्यति किन भएन ? यी प्रश्नहरू भावनाले होइन, तथ्यांक र डाटाले उत्तर दिन सक्नुपर्छ ।
अब समय आएको छ—भीडको लहरमा बगिने होइन, विवेकको निर्णय लिने । मनको रिसले होइन, मस्तिष्कको विवेकले न्याय गर्ने । जुन दिन जनताले उम्मेदवारको ज्ञान, क्षमता, अनुभव, चरित्र र नियत हेरेर भोट हाल्न थाल्छन्, त्यही दिन चटके र पटकेहरू राजनीतिबाट आफैं लाज मानेर पन्छिन्छन् । योग्य मान्छेहरू स्वतः अगाडि आउँछन्, र लोकतन्त्र साँच्चिकै जनताको बन्छ ।
बुझिराखौं—राम्रा मान्छेले जित्न थाले भने देश कहिल्यै हार्दैन । लोभ, लालच र क्षणिक आकर्षणको पछि नदौडौं । भोलिको सुन्दर नेपालको सपना बोकेको, दृष्टि र निष्ठा भएको व्यक्ति र दलका योग्य पात्रलाई जिताऔं । मतदाता सचेत र विवेकशील हुने दिन टाढा छैन—त्यस दिनको सुरुवात यही चुनावबाट गरौं । ६ माघ २०८२ मङ्गलबार ।
























