प्रहार समाचार । तनहुँ, ६ माघ २०८२ मङ्गलबार । तनहुँको शुक्लागण्डकी नगरपालिका–१, बतासे क्षेत्रमा भएको टिप्पर दुर्घटनाले एक जनाको ज्यान गएको छ। कोत्रेबाट थप्रेकतर्फ जाँदै गरेको गिट्टी बोकेको टिप्पर सडकबाट करिब ५० मिटर तल खस्दा चालकको उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार आज विहान भित्री पक्की सडकखण्डमा ग १ क ६४८५ नम्बरको टिप्पर अनियन्त्रित भई सडकबाट तल खसेको थियो। दुर्घटनामा टिप्पर चालक गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोट निवासी ४२ वर्षीय रामबहादुर गुरुङ गम्भीर घाइते भएका थिए।
घाइते गुरुङलाई तत्काल उपचारका लागि जि.पी. कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, झरौटामा पठाइएको थियो। टाउको, निधार, दायाँ आँखामाथि तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका गुरुङको उपचारको क्रममा निधन भएको चिकित्सकलाई उद्धितगर्दै जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
घटनापछि प्रहरी टोलीले दुर्घटनास्थलको मुचुल्का उठाई थप अनुसन्धान अघि बढाएको छ। स्थानीय भित्री सडकखण्डमा भारी सवारी साधन सञ्चालन गर्दा आवश्यक सावधानी नअपनाउँदा यस्ता दुर्घटना बढ्दै गएको भन्दै स्थानीयले सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।




























