प्रहार समाचार । तनहुँ, ५ माघ २०८२ सोमबार । नेपाली कांग्रेस स्वतन्त्र अभियान तनहुँ (जोशी समूह) ले जिल्लामा राजनैतिक गतिविधिलाई सशक्त बनाउँदै आगामी निर्वाचनका लागि औपचारिक रूपमा चुनावी तयारी अघि बढाएको छ। दमौलीमा हिंजो सम्पन्न जिल्ला स्तरीय भेलाले तनहुँ क्षेत्र नम्बर १ र २ दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गर्दै संगठन विस्तार र निर्वाचन सहकार्यका विषयमा रोडम्याप तय गरेको जनाएको छ।

अभियानका संयोजक हरिशरण पण्डितको अध्यक्षतामा सम्पन्न भेलामा कांग्रेसका पूर्व–वर्तमान नेता तथा स्थानीय जनप्रतिनिधिहरूक उपस्थिति रहेको थियो। भेलामा वक्ताहरूले समसामयिक राष्ट्रिय राजनीति, नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि देखिएको आन्तरिक प्रभाव र त्यसले स्थानीय संगठनमा पारेको असरबारे धारणा राखेका थिए। साथै, पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य र जनताको अपेक्षालाई केन्द्रमा राख्दै स्वतन्त्र अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिइएको थियो। स्थानीय आवश्यकता र जनभावनालाई आधार मानेर उम्मेदवार छनोट गर्नुपर्ने र संगठनात्मक क्षमतालाई मजबुत बनाउँदै चुनावी मैदानमा उत्रिनुपर्ने निष्कर्ष भेलाले निकालेको छ।
भेलाले सर्वसम्मत रूपमा उम्मेदवार सिफारिससमेत गरेको छ ।

सिफारिस अनुसार तनहुँ क्षेत्र नम्बर १ बाट सुकुमलाल गुरुङ र दीपकराज जोशी तथा क्षेत्र नम्बर २ बाट हरिशरण पण्डित र नरेन्द्र थापा मगरलाई उम्मेदवारका रूपमा अघि सारिएको छ। यसैगरी, नेपाली कांग्रेससहित अन्य राजनीतिक दलहरूसँग सम्भावित निर्वाचन सहकार्यबारे संवाद अघि बढाउन हरिशरण पण्डितको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ, जसमा अन्य नेताहरु पनि रहेका । भेलाको अन्त्यमा जोशी समूहले ‘विकास र परिवर्तनका लागि स्वतन्त्र अभियान’ भन्ने मूल नाराका साथ टोल र वडा तहसम्म संगठन विस्तार गर्ने, जनताका वास्तविक मुद्दालाई समेटेर घोषणापत्र तयार गर्ने र जनस्तरमा पुग्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। संयोजक पण्डितले भेलाबाट गरिएका निर्णयलाई व्यवहारमा उतार्दै तनहुँको समग्र विकास र जनसेवामा केन्द्रित भएर अभियानलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे।



























