प्रहार समाचार । तनहुँ, ४ माघ २०८२ आइतबार । ग्रामीण अर्थतन्त्रको सबलीकरण, रोजगारी सिर्जना र आत्मनिर्भर कृषि प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यसहित बन्दीपुरमा पाँचौँ राष्ट्रिय बाख्रा दिवस मनाइएको छ। “व्यावसायिक सफलताको एक आधार : बाख्रामा नश्ल सुधार” भन्ने नारासहित ४ माघ २०८२ मा बन्दीपुर गाउँपालिका–४ स्थित टुंडीखेलमा आयोजित कार्यक्रममा जिल्लाभरका किसान, जनप्रतिनिधि, प्राविधिक तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो। तस्बिरहरु : प्रहार अनलाईन मिडिया ।

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुर, तनहुँको आयोजनामा सम्पन्न कार्यक्रमले बाख्रापालनलाई आयआर्जन र सामाजिक रूपान्तरणको प्रभावकारी माध्यमका रूपमा अघि सारेको छ। कार्यक्रममा बोल्दै बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले स्थानीय सरकारले बाख्रापालनलाई प्राथमिक क्षेत्रका रूपमा अघि बढाउँदै नश्ल सुधार, प्रविधि हस्तान्तरण र बजार व्यवस्थापनमा सहकार्य विस्तार गरिने बताए। भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले युवा र महिलालाई लक्षित व्यावसायिक बाख्रापालनले गाउँमै रोजगारी र समृद्धिको ढोका खोल्ने उल्लेख गरे। राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका संयोजक डा. राजु आचार्यको सभापतित्वम भएको कार्यक्रममा बोल्दै उनले नेपाललाई बाख्रा पालनमा आत्म निर्भर बनाउन सकिने उल्लेख गर्दै यसका लागि सबै तह लाग्नु पर्ने बताए । कार्यक्रममा भानु नगरपालिकाकी उप प्रमुख उमा गोतामे , बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पंञ्चमाया भुजेल लगायतको उपस्थिति रहेको थियो ।

वडा अध्यक्षहरू शिवकुमार श्रेष्ठ ,तिलकबहादुर कुँवरले उत्पादनदेखि बजारीकरणसम्म स्थानीय तहको भूमिका निर्णायक हुने बताए। नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय सचिव कुशलचन्द्र अधिकारीले किसानमुखी नीति र संस्थागत सहकार्य अपरिहार्य रहेको बताए भने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख रबिन्सन अधिकारीले रोग नियन्त्रण, खोप कार्यक्रम र प्राविधिक सेवाको पहुँच विस्तारमा जोड दिए। राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रम बन्दीपुरका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यको अध्यक्षतामा भएको सत्रमा अनुसन्धान र किसानबीचको दूरी घटाएर व्यवहारिक परिणाममा केन्द्रित हुनुपर्ने विषय उठान गरियो।

कार्यक्रमका अवसरमा पशुसेवा शाखाको सिफारिसका आधारमा जिल्लाका विभिन्न पालिकाबाट छनोट गरिएका २० जना उत्कृष्ट बाख्रापालक कृषकलाई सम्मान गरिएको छ। पुरस्कृत हुने कृषकहरूमा बन्दीपुर गाउँपालिका–६ की रिता चित्रकार, बन्दीपुर–१ की भागीरथी अधिकारी, भानु नगरपालिका–१० का धनबहादुर गुरुङ, भानु–४ की आसामाया कुमाल, ऋषिङ्ग–२ का नारायण राना, ऋषिङ्ग–५ का माधव गौतम, म्याग्दे–५ का सामेल गुरुङ, म्याग्दे–६ का दानबहादुर आले, घिरिङ–२ की सिता थापा, घिरिङ–३ का किशान श्रेष्ठ, आँबुखैरेनी–१ का पूर्णबहादुर मगर, आँबुखैरेनी–४ का बुद्धिबहादुर गुरुङ, व्यास नगरपालिका–१० का बाबुराम पौडेल, व्यास–१४ का सन्तोष आले, सुक्लागण्डकी नगरपालिकाका अभिषेक थापा मगर र पाण्डव लामिछाने, भिमाद–९ का शिवकुमार आले र याममाया क्षेत्री, तथा देवघाट गाउँपालिका–३ का मोहनकुमार श्रेष्ठ र गौरिमान आले रहेका छन्। कार्यक्रमको सहजीकरण नेपाल व्यावसायिक बाख्रापालक महासंघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष यमप्रसाद आचार्यले गरेका थिए ।

आयोजकका अनुसार दुर्गम क्षेत्रमा निरन्तर मेहनत गरेका, महिला तथा आदिवासी जनजाति कृषक, वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै व्यवसाय सुरु गरेका युवा तथा पकेट प्रणालीमार्फत सामूहिक उत्पादन बढाएका कृषकलाई सम्मान गरिएको हो। कार्यक्रमले बाख्रापालनलाई दिगो, व्यावसायिक र सम्मानजनक पेशाका रूपमा स्थापित गर्दै ग्रामीण विकासको बलियो आधार बन्न सक्ने सन्देश दिएको छ।





























