प्रहार समाचार । तनहुँ, ४ माघ २०८२ आइतबार । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाका प्रमुख राजनीतिक दलहरू उम्मेदवार छनोटदेखि संगठन सुदृढीकरणसम्मका काममा व्यस्त देखिएका छन्। दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा नेकपा (एमाले) ले आफ्ना उम्मेदवार टुंग्याउँदै चुनावी मैदानमा औपचारिक तयारी थालेको छ। पार्टीले तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट भगवती न्यौपाने र तनहुँ निर्वाचन क्षेत्र नं. २ बाट केदार सिग्देललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

एमालेको यो निर्णयसँगै जिल्लामा चुनावी प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ। पार्टी संगठन परिचालन, कार्यकर्ता प्रशिक्षण तथा मतदाता भेटघाटका कार्यक्रमहरूलाई तीव्रता दिएको छ । स्थानीय तहदेखि केन्द्रसम्मका नेताहरू निर्वाचन लक्षित गतिविधिमा सक्रिय भएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार यस पटकको निर्वाचनमा स्थानीय मुद्दा, विकास निर्माण र राजनीतिक स्थायित्व मुख्य बहसका विषय बन्ने देखिन्छ। एमालेले उम्मेदवार छानोटमा अनुभव र संगठनात्मक पकडलाई प्राथमिकता दिएको बताइएको छ। यता अन्य दलहरू पनि उम्मेदवार चयन र रणनीति निर्माणको अन्तिम चरणमा पुगेका छन्। उम्मेदवारी घोषणासँगै तनहुँको राजनीतिक माहोल थप तातिने र चुनावी प्रतिस्पर्धा रोचक बन्दै जाने अपेक्षा गरिएको छ।



























