प्रहार समाचार । तनहुँ, ४ माघ २०८२ आइतबार । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा राजनीतिक गतिविधि चुलिँदै गएको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोट र संगठन परिचालनमा व्यस्त देखिएका छन्। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ।

पार्टी स्रोतका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट बिध्या ढकाल र क्षेत्र नम्बर २ बाट सोमबहादुर थापाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। उम्मेदवार सिफारिससँगै जिल्लाभर पार्टीको चुनावी तयारीलाई थप गति दिने रणनीति बनाइएको बताइएको छ। पार्टी नेतृत्वले संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा निर्वाचन अभियानलाई प्रभावकारी बनाउने तयारी थालेको छ।
यस अवसरमा नेकपाको व्यास नगर समितिका संयोजक गोपाल सुर्खालीले उम्मेदवारप्रति विश्वास व्यक्त गर्दै निर्वाचनमा जितको अग्रिम शुभकामना व्यक्त गरेका छन्। उनले पार्टीको नीति, कार्यक्रम र उम्मेदवारप्रति जनताको भरोसा कायम रहेको दाबीसमेत गरेका छन्।
तनहुँमा यसअघि भएका निर्वाचन परिणामलाई मध्यनजर गर्दै यसपटकको निर्वाचनलाई अर्थपूर्ण प्रतिस्पर्धाको रूपमा हेरिएको छ। उम्मेदवार सिफारिस भएसँगै अब अन्य दलहरूका निर्णयले तनहुँको चुनावी समीकरण थप रोचक बन्ने देखिएको छ।



























