हेडलाईनविचारप्रदेश

वादे वादे जायते तत्वबोध :

‘आजको पुस्ता, विशेषतः जेनजीका मागहरूलाई हल्का रूपमा लिन मिल्दैन। उनीहरूका प्रश्न, असन्तोष र अपेक्षा नाजायज होइनन्। बरु ती प्रश्नहरूले नै राज्य र राजनीतिक दलहरूलाई आत्ममूल्यांकन गर्न बाध्य बनाइरहेका छन्। सबै दलहरूले जेनजीका माग सम्बोधन हुने गरी स्पष्ट कार्यनीति तय गर्नुपर्छ, नत्र पुरानो ढाँचा र पुरानो सोच बोकेर निर्वाचनमा जानु आत्मघाती सावित हुन सक्छ।’ भन्दै नवराज न्यौपाने ‘मौन’ लेख्छन् :

म एउटा सामान्य किसान परिवारमा जन्मेर हुर्केको साधारण व्यक्ति हुँ। बाल्यकालमा किसानी कर्मकै बीचबाट लेखपढ गर्ने अवसर जुट्यो। खेतबारी, हलो–जोत र पसिनासँगै अक्षर चिन्ने संघर्षले मलाई जीवनको वास्तविक पाठ सिकायो। युवावस्थामा प्रवेश गरेपछि करिब २७ वर्षसम्म प्राविधिकको हैसियतले भौतिक पूर्वाधार निर्माणका संरचनाहरू—सर्वेक्षण, डिजाइन, इष्टिमेट र योजना कार्यान्वयन—को सिलसिलामा दुर्गम गाउँबस्तीमा विचरण गरें। विकासका नक्सा बोकेर हिँड्दा देशका भौगोलिक मात्रै होइन, सामाजिक र राजनीतिक यथार्थ पनि नजिकबाट देख्ने अवसर मिल्यो। तर यति लामो यात्रामा पनि लेख्ने काम भने मैले कहिल्यै छाडिनँ।


स्वेच्छिक अवकाशपछि साहित्य र पत्रकारिता दुवै क्षेत्रमा हात बढाएँ। काव्य, आख्यान, गैरआख्यानसँगै फिचर लेखनमा पनि सक्रिय भएँ। फिचरमा समाजका अनेक आयाम समेटिए, तर राजनीतिक विषयमा भने अपेक्षाकृत कम लेखियो। शायद राजनीतिप्रति वितृष्णा होइन, बरु जिम्मेवारीबोधकै कारण थियो त्यो मौनता। तर अहिले समय फेरिएको छ। चुनाव नजिकिँदै छ, दलहरू जुट्ने–फुट्ने क्रममा समय खर्चिरहेका छन्। सबैलाई बहुमत ल्याएर सरकार चलाउने हतारो छ, तर के त्यो हतारो देश र जनताको हितसँग मेल खान्छ?


परिवर्तित समयसँगै नीति, नियम र नेतृत्व परिवर्तन हुनु अपरिहार्य हुन्छ। इतिहास साक्षी छ—जुन समाज समयसँगै नबदलियो, त्यो समाज पछि पर्यो। आजको पुस्ता, विशेषतः जेनजीका मागहरूलाई हल्का रूपमा लिन मिल्दैन। उनीहरूका प्रश्न, असन्तोष र अपेक्षा नाजायज होइनन्। बरु ती प्रश्नहरूले नै राज्य र राजनीतिक दलहरूलाई आत्ममूल्यांकन गर्न बाध्य बनाइरहेका छन्। सबै दलहरूले जेनजीका माग सम्बोधन हुने गरी स्पष्ट कार्यनीति तय गर्नुपर्छ, नत्र पुरानो ढाँचा र पुरानो सोच बोकेर निर्वाचनमा जानु आत्मघाती सावित हुन सक्छ।


जनता अब कसैको दास भएर बस्न चाहँदैनन्। चेतनाको स्तर बढेको छ, सूचनाको पहुँच फराकिलो भएको छ। नीति, नियम, ऐन र कानुन बनाउने तर पालना नगर्ने; आफूअनुकूल हुने गरी संशोधन गराउने प्रवृत्तिले युवाहरूको मन जित्न सकिँदैन। राजनीति देश र जनताको भलाइका लागि हुनुपर्छ, आफू र आफ्नो परिवारको स्वार्थका लागि होइन। जब राजनीति व्यक्तिगत लाभको साधन बन्छ, तब त्यसले लोकतन्त्रको आत्मा नै कमजोर बनाउँछ।


‘सच्चिने’ बाटो नहिँडी ‘सक्किने’ बाटो हिँड्नेहरूलाई समयले नै पाठ सिकाउनेछ। इतिहासले बारम्बार देखाएको सत्य यही हो। हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनेहरूका लागि मेरो भन्नु केही छैन। किनकि पछुतो आफैंमा ठूलो दण्ड हो। ‘आखीर श्रीकृष्ण रहेछ एक’ भनेझैं, अन्तिममा सत्य र नैतिकताकै जित हुन्छ—पछुताउनु नपरोस् भन्ने कामना मात्र गर्न सकिन्छ।
वाद–विवादकै क्रममा तत्वबोध हुन्छ—“वादे वादे जायते तत्वबोधः।” स्वस्थ बहस, आलोचना र आत्मसमीक्षाबाटै समाज र राजनीति परिष्कृत हुन्छन्। मौन बसिरहँदा गलत प्रवृत्तिले जरा गाड्छ। त्यसैले आज आवश्यक छ—खुला बहस, स्पष्ट दृष्टिकोण र समयअनुकूल साहसी निर्णय। यही बाटोले मात्र देशलाई सही दिशातर्फ लैजान सक्छ। २ माघ २०८२ शुक्रबर ।

• काठमाडौँ


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button