प्रहार समाचार । तनहुँ, २ पुस २०८२ शुक्रबार । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँको सदरमुकाम दमौलीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। साविकको सामाजिक विकास कार्यालयमा स्थापना गरिएको कार्यालयको उद्घाटन तनहुँका मुख्य न्यायाधीश विष्णुप्रसाद उपाध्यायले गरेका हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्य न्यायाधीश उपाध्यायले निर्वाचन लोकतन्त्रको मेरुदण्ड भएकाले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा मतदान सम्पन्न गरिनु अपरिहार्य रहेकोमा जोड दिए। उनले निर्वाचन प्रक्रियामा संलग्न सबै निकायले कानुन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताए।
कार्यक्रममा तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउनु राज्यका निकाय मात्र होइन, राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारमाध्यम र आम नागरिक सबैको साझा दायित्व भएको स्पष्ट पारे। उनले जिल्लामा शान्ति सुरक्षा, व्यवस्थापन र समन्वयलाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता जनाए।
त्यसैगरी जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले निर्वाचनलाई लक्षित गर्दै प्रशासनिक, प्राविधिक तथा व्यवस्थापकीय तयारीलाई तीव्र बनाइएको जानकारी दिए। उनले मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र व्यवस्थापन, कर्मचारी परिचालन र निर्वाचन सामग्री व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए।
कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यालय सञ्चालनमा आएसँगै तनहुँमा प्रतिनिधिसभा निर्वाचनको तयारीले औपचारिक गति लिएको जनाइएको छ।




























