प्रहार समाचार । तनहुँ, २ माघ २०८२ शुक्रबार । “सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी” भन्ने मूल नारासहित २८औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यास नगरपालिकामा विविध सचेतनामूलक कार्यक्रम आज तनहुँको व्यास नगरपालिकामा मनाइएको छ ।

आयोजित सचेतना सभामा जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य सन्देश भूकम्पपछि होइन, भूकम्पअघि नै तयारी गर्नुपर्छ भन्नेमा केन्द्रित थियो।

सचेतना सभाकै क्रममा व्यास नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा नगर क्षेत्रमा बसोवास गर्ने नगरबासीले भूकम्पीय जोखिम न्यूनीकरणका लागि चार बुँदे सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन्। प्रतिवद्धताअनुसार सहभागीहरूले भूकम्पीय जोखिमबाट सुरक्षित रहने उपायहरू स्वयं सिक्ने र परिवारका सबै सदस्यलाई सिकाउने, अब निर्माण गरिने घरहरू भूकम्प प्रतिरोधी बनाउने तथा हाल प्रयोगमा रहेका घरहरूलाई भूकम्पीय प्रवलीकरण (रेट्रोफिटिङ) गर्ने जनाएका छन्।

त्यसैगरी, समुदायस्तरमै भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी चेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि गरिएको छ। यसलाई व्यक्तिगत मात्र नभई सामुदायिक जिम्मेवारीका रूपमा स्वीकार गरिएको सहभागीहरूको भनाइ छ।
उक्त प्रतिवद्धता पत्रमा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने, नगर उपप्रमुख इन्दिरा दरै, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा पत्रकारहरूले हस्ताक्षर गरेका थिए।

कार्यक्रममा वक्ताहरूले नेपाल उच्च भूकम्पीय जोखिममा रहेको मुलुक भएकाले सचेतना, सुरक्षित निर्माण र पूर्वतयारी नै जनधनको क्षति न्यूनीकरण गर्ने प्रमुख उपाय भएको उल्लेख गरे। स्थानीय तह, राज्य संयन्त्र र नागरिकबीचको सहकार्यबाट मात्रै भूकम्प उत्थानशील समाज निर्माण सम्भव हुने उनीहरूको जोड थियो। कार्यक्रममा व्यास नगरपालिकाका न्द्रलाल मुलले भूकम्प, सुरहित घर , शकम्पबाट बच्ने उपायका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

२८औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा गरिएको यो पहलले व्यास नगरपालिकामा विपद् जोखिम न्यूनीकरणलाई व्यवहारिक रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




























