हेडलाईनसमाचारप्रदेश

अस्कलको स्ववियुदेखि कांग्रेस महामन्त्रीसम्म : प्रदीप पौडेलको उकालो लाग्दो राजनीतिक यात्रा

प्रहार समाचार । तनहुँ, २ माघ २०८२ शुक्रबार । तनहुँ जन्मघर भएका विद्यार्थी राजनीतिबाट राष्ट्रिय पार्टी नेतृत्वसम्म उक्लिने प्रभावशाली अनुहारहरू मध्य प्रदीप पौडेल पनि एक हो । बुधबार सम्पन्न नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएसँगै पौडेलले आफ्नो राजनीतिक यात्राको सबैभन्दा महत्वपूर्ण मोड पार गरेका छन्।


पौडेलको राजनीतिक उभार संयोग मात्रै होइन, निरन्तर संघर्ष, हार–जीत र सही समयमा गरेको पक्षधरता परिवर्तनको नतिजा हो। कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाटै उनको राजनीतिक विकास भएको हो। नेविसंघकै राजनीतिमा विश्वप्रकाश शर्मा र गगन थापासँगै हुर्किएका पौडेल नेविसंघको सभापतिसम्म पुगेका थिए। यसअघि उपसभापति र केन्द्रीय सदस्यका रूपमा संगठन चलाउँदा उनी विद्यार्थी राजनीतिमा स्थापित नाम बने।

विद्यार्थी जीवनमै तत्कालीन वामपन्थी प्रभाव बलियो रहेको अमृत साइन्स क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित हुनु पौडेलको राजनीतिक यात्राको टर्निङ प्वाइन्ट मानिन्छ। यही सफलताले उनलाई राष्ट्रिय राजनीतिमा सम्भावनायुक्त नेताको रूपमा चिनाएको थियो।
२०६२–०६३ को जनआन्दोलनका क्रममा राजकाज मुद्दा खेप्नु परेका पौडेल सडक संघर्षबाट आएको पुस्ताका प्रतिनिधि हुन्। १२औं महाधिवेशनपछि कांग्रेस केन्द्रीय समितिमा प्रवेश गरेका उनी १३औं महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा दोहोरिए। तर १४औं महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धामा पराजय बेहोर्नुपर्‍यो। त्यस बेला कृष्णप्रसाद सिटौला निकट रहेका पौडेल शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बने पनि गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।


पराजयपछि ओझेलमा परेझैं देखिएका पौडेल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट एमालेका वरिष्ठ नेता ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै बलियो कमब्याक गरे। यही निर्वाचनपछि कांग्रेसभित्र उनको राजनीतिक वजन फेरि बढ्न थाल्यो। २०७९ पुस ६ गते भएको कांग्रेस संसदीय दल नेता चयनमा उनले खुलेर गगन थापालाई समर्थन गरे, जसले उनी गगन समूहसँग नजिकिएको स्पष्ट संकेत दियो।
त्यसकै निरन्तरतामा पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्री बने। यसअघि २०७४ सालको प्रदेशसभा निर्वाचनमा तनहुँ–२ (१) बाट झिनो मतले पराजित भएको अनुभवले उनलाई अझ परिपक्व बनाएको कांग्रेस वृत्तको विश्लेषण छ।


दोस्रो विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित हुनु प्रदीप पौडेलका लागि केवल पद प्राप्ति होइन, लामो समयको राजनीतिक उतार–चढावपछि आएको पुनःस्थापनाको संकेत हो। विद्यार्थी राजनीतिबाट सुरु भएको उनको यात्रा अब कांग्रेसको केन्द्रीय शक्ति संरचनाको केन्द्रमा पुगेको छ। कांग्रेसको आगामी दिशानिर्देशनमा पौडेलले कस्तो भूमिका खेल्छन् भन्ने चासो अहिले पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि बढ्दो छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button