प्रहार समाचार । तनहुँ, २६ पुस २०८२ शनिबार । तनहुँको शुक्लागण्डकी नगरपालिकामा एकैदिन तीन जनाको शव फेला परेपछि नगर क्षेत्र स्तब्ध बनेको छ। दुई पुरुष र एक महिलाको शव फरक–फरक स्थानमा भेटिनुले घटनालाई रहस्यमय बनाएको छ।

नगरपालिका–५ कसेरीस्थित शुक्लागण्डकी नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्र परिसरमा दुई जना पुरुषको शव फेला परेको हो। आज बिहान स्थानीयले दुर्गन्ध फैलिएको भन्दै प्रहरीलाई खबर गरेपछि शव फेला परेको जनाइएको छ। शवको पहिचान खुल्न बाँकी रहेको र मृत्युको कारण तत्काल खुलेको छैन।
यस्तै, सोही दिन शुक्लागण्डकी–५ कै जनकल्याण माध्यमिक विद्यालयको तलपट्टी रहेको जंगल क्षेत्रमा एक महिलाको शव भेटिएको छ। जंगलभित्र शव देखिएपछि स्थानीय त्रसित बनेका छन्। महिलाको उमेर, पहिचान र मृत्युको कारणबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एकैदिन, एउटै नगरपालिकाभित्र फरक–फरक स्थानमा तीन जनाको शव भेटिनुले विभिन्न आशंका जन्मिएको छ। घटनाहरू आपसमा सम्बन्धित हुन् वा संयोग मात्र हुन् भन्ने विषयमा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घटनास्थलमा प्रहरी टोली परिचालन गरि सिल गरिएको छ भने शवहरू पोस्टमार्टमका लागि दमौली अस्पताल पठाइएको छ। प्रारम्भिक अनुसन्धानबाट कुनै निष्कर्षमा पुग्न नसकिएको र सबै कोणबाट घटनाको अध्ययन भइरहेको प्रहरीले जनाएको छ।
नगर क्षेत्रमा असामान्य घटनाहरू बढ्दै गएपछि स्थानीयले सुरक्षा व्यवस्था थप कडा बनाउन माग गरेका छन्। प्रहरीले सत्य तथ्य बाहिर ल्याउन समय लाग्ने भन्दै अफवाह नफैलाउन सबैलाई आग्रह गरेको छ। तस्बिर : तनहुँ खबर
























