हेडलाईनसमाचारप्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कुलमान अलगिए, उज्यालो नेपाल पार्टीको अध्यक्ष सम्हाल्दै

प्रहार समाचार । काठमाडौँ, २६ पुस २०८२ शनिबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता भएको छोटो समय बित्न नपाउँदै कुलमान घिसिङ उक्त पार्टीबाट विधिवत रूपमा अलगिएका छन्। अलगिए सङ्गै उज्यालो नेपाल पार्टी (उनेपा) ले कुलमान घिसिङलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।

पछिल्ला केही दिनदेखि राजनीतिक वृत्तमा चर्चामा रहेका घिसिङ अब उनेपाको औपचारिक नेतृत्वमा देखिने भएका छन् ।
निर्वाचन आयोगमा भने उनेपाको अध्यक्षका रूपमा अनुप उपाध्यायको नाम दर्ता छ । तर रास्वपासँगको सहमति भाँडिएलगत्तै उनेपाले आकस्मिक निर्णय गर्दै घिसिङलाई अध्यक्ष बनाएको हो । रास्वपाबाट उपसभापति भएर आगामी निर्वाचनमा जाने तयारीमा रहेका घिसिङका लागि यो निर्णय नयाँ मोडका रूपमा आएको छ ।


रास्वपाले भने पुस १४ मा भएको सहमतिविपरीत घिसिङले थप माग राखेपछि एकता सम्भव नभएको दाबी गरेको छ । एकता जोगाउने अन्तिम प्रयासस्वरूप घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार र शनिबार लामो छलफल भए पनि सहमति टुंगिन नसकेको बताइन्छ ।


यसैबीच, उनेपाले आजै केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । साँझ ६ बजे केन्द्रीय कार्यालयमा हुने प्रेस मिटमा घिसिङले अध्यक्षको हैसियतमा पार्टीको आगामी राजनीतिक दिशा, एकता प्रयास विफल हुनुका कारण र भावी रणनीतिबारे धारणा राख्ने तयारी रहेको उनेपा केन्द्रीय सदस्य किरण विकले जानकारी दिए ।


रास्वपासँगको एकता टुटेसँगै घिसिङको राजनीतिक यात्राले नयाँ बाटो समातेको छ । उनेपाको नेतृत्व सम्हाल्दै उनले कस्तो एजेन्डा अघि सार्छन् र आगामी चुनावी राजनीतिमा पार्टीलाई कसरी उभ्याउँछन् भन्ने विषयले अब राजनीतिक वृत्तको ध्यान तानेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button