हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

वर्षौँदेखि उपेक्षित सडकमा नागरिकको पहल : तनहुँमा बृहत सरसफाइ

प्रहार समाचार । तनहुँ, २६ पुस २०८२ शनिबार । तनहुँको व्यास नगरपालिका–४ अन्तर्गत मादी नदी पुलदेखि बैरेनी जाने सडकखण्डमा आज बृहत सरसफाई गरिएको छ।

बरर्षौँदेखि भत्किएको, धुलाम्मे र झाडीले ढाकिँदा सर्वसाधारणलाई आवतजावतमै कठिनाइ हुँदै आएको थियो। करिब ५–६ वर्षअघि आंशिक रूपमा पिच गरिएको उक्त सडकको दुर्दशाले स्थानीयवासीको दैनिकी प्रभावित बनेको अवस्थामा शनिबार नागरिकस्तरबाटै बृहत सरसफाइ अभियान सञ्चालन गरिएको छ।


सरसफाइ अभियन्ता एवम् जलदेवी टोल निवासी भाग्यशाली ढुङ्गानाको समन्वयमा चुरेखोल्सी टोल अध्यक्ष हरिराज पौडेल, सित्तलचोक टोलका केशव राज पौडेल तथा दमौली खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठको उपस्थितिमा अभियान सञ्चालन गरिएको हो। पुल निर्माणतर्फका साइड इन्चार्ज दिनेश श्रेष्ठसँग समन्वय गरी जेसीबी प्रयोग गर्दै सडकमा जमेको माटो, झाडी र अवरोध हटाइएको थियो।


अभियानमा टोलबासीहरूको सक्रिय सहभागिता देखिएको थियो। स्थानीयले सडक सफा गरेपछि सवारीसाधन तथा पैदल यात्रुका लागि आवागमन सहज भएको बताएका छन्। दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यान जानु आवश्यक रहेको भन्दै स्थानीयवासीले नियमित मर्मत र पुनः पिचको माग समेत गरेका छन्।


उपेक्षित पूर्वाधारमा सरकारी पहल पर्खिरहनु भन्दा नागरिक आफैँ अग्रसर भएको यो अभियानले स्थानीय एकता र जिम्मेवारीको सन्देश दिएको सहभागीहरूको भनाइ छ।


 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button