प्रहार समाचार । काठमाडौँ, २६ पुस २०८२ शनिबार । आज देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायमै रहँदा दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत असर देखिएको छ । यसको प्रभावले तराई भू–भागमा हुस्सु तथा कुहिरो बढ्दा पहाडी र हिमाली क्षेत्रमा भने मौसम प्रायः खुला रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । विशेषगरी कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु र कुहिरो बाक्लो रूपमा देखिएको छ । अन्य तराई क्षेत्रका केही स्थानमा समेत कुहिरो लागेको महाशाखाले जनाएको छ ।
आज दिउँसोसम्म तराईका अधिकांश स्थानमा मध्यान्न समयसम्म हुस्सु तथा कुहिरो रहिरहने अनुमान गरिएको छ । यसले सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
दिउँसोपछि भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा नै रहने पूर्वानुमान छ ।
























