हेडलाईनसमाचारगण्डकी

लमजुङ कांग्रेसमा नेतृत्व–कार्यकर्ता दूरी बढ्दै : ८१ प्रतिशत प्रतिनिधि विशेष महाधिवेशनतर्फ

• विजय अधिकारी ( संवाददाता ) प्रहार समाचार । लमजुङ, २५ पुस २०८२ शुक्रबार । नेपाली कांग्रेस लमजुङमा विशेष महाधिवेशनको विषयले संगठनभित्र गहिरो ध्रुवीकरण सिर्जना गरेको छ । बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा उभिँदा जिल्ला नेतृत्व र केही प्रभावशाली नेताहरू भने नियमित महाधिवेशनमै अडिग देखिएका छन् ।
लमजुङबाट रहेका २७ जना महाधिवेशन प्रतिनिधिमध्ये २२ जना अर्थात् ८१.४८ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको स्पष्ट समर्थन गरेका छन् । जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थिति र पार्टीभित्र संरचनागत सुधार आवश्यक भएको दाबी गर्दै उनीहरूले असोजमै हस्ताक्षर अभियान चलाएका थिए ।


विशेष महाधिवेशनको विपक्षमा भने नेपाली कांग्रेस लमजुङका सभापति तथा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङसहित पाँच जना महाधिवेशन प्रतिनिधि देखिएका छन् । उनीहरूसँगै पूर्वकेन्द्रीय सदस्य दिलबहादुर घर्ती, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर र सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले नियमित महाधिवेशनको पक्ष लिएका छन् ।


यसबीच, सुरुमा तटस्थ रहेको दाबी गर्दै आएका कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री तथा मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे पनि विशेष महाधिवेशनको समर्थनमा खुलेका छन् । विदेशमा रहेका जीवनकुमार श्रेष्ठ, सुकमाया गुरुङ र ललितकुमार गुरुङले समेत हस्ताक्षर पठाएर समर्थन जनाएका छन् । नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले त काठमाडौंमै पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन अपरिहार्य भएको घोषणा गरेपछि पक्ष–विपक्षको रेखा झन् स्पष्ट बनेको छ ।


जिल्लाभित्र संगठनात्मक तहमा समेत बहुमत विशेष महाधिवेशनतर्फ देखिन्छ । लमजुङका दुवै क्षेत्रका क्षेत्रीय सभापति, ८ स्थानीय तहमध्ये ४ नगरपालिका र ३ गाउँपालिकाका पार्टी सभापतिले विशेष महाधिवेशनको समर्थन गरेका छन् । जिल्ला सचिव विमल श्रेष्ठसहित २ क्षेत्रीय सभापति र ७ स्थानीय तहका पार्टी सभापतिले पार्टीको लेटरप्याडमै हस्ताक्षर गर्दै महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन सार्वजनिक आह्वान गरेका छन् । दोर्दी गाउँपालिकाका सभापति विच्छबहादुर घले भने अहिलेसम्म मौन देखिएका छन् ।


जिल्ला कार्यसमितिको नेतृत्व भने विभाजित छ । सभापति डा. टकराज गुरुङसँगै उपसभापति आनन्द घिमिरे, श्रीकान्त घिमिरे र सचिव कृष्णबहादुर अधिकारी नियमित महाधिवेशनको पक्षमा उभिएका छन् । सचिव अधिकारीले पार्टीको आधिकारिक निर्णयबिना मनलाग्दी महाधिवेशन बोलाउन नमिल्ने तर्क गर्दै आएका छन् । अर्कातर्फ सचिव विमल श्रेष्ठले भने बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसलाई “नयाँ कांग्रेस” बनाउने एकमात्र विकल्प विशेष महाधिवेशन भएको दाबी गरेका छन् ।
लमजुङबाट २८ जना महाधिवेशन प्रतिनिधि रहेकामा दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष छुपीमाया गुरुङको निधनपछि हाल प्रतिनिधि सङ्ख्या २७ कायम छ । संख्यात्मक बहुमत कार्यकर्ता र प्रतिनिधिहरूको पक्षमा रहे पनि प्रभावशाली पदाधिकारीहरूको असहमतिको कारण लमजुङ कांग्रेसभित्रको यो ध्रुवीकरण आगामी केन्द्रीय राजनीतिमा समेत अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button