प्रहार समाचार । तनहुँ, २२ पुस २०८२ गलबार । तनहुँको नगरपालिकाले आगामी ४४औँ नगरसभाको तयारीलाई तीव्र बनाउँदै आर्थिक विधेयक, विनियोजन विधेयक र आय–व्ययको संशोधित प्रस्ताव पारित गरेको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न नगर कार्यपालिकाको नियमित बैठकले शिक्षा, प्रशासन र वनसम्बन्धी नीतिगत निर्णयहरु गरेको हो ।

आज सम्पन्न नगर कार्यपालिकाको नियमित बैठक (बैठक नं. २२९) नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको हो । बैठकमा नगर उपप्रमुख ईन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखा–उपशाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
बैठकले मिति २०८२/०९/०७ गते नगर कार्यपालिकाबाट भएका निर्णयहरू तथा नगरपालिकाबाट भइरहेको सेवा प्रवाहको समग्र समीक्षा गर्दै कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। साथै आगामी पौष २५ गते बस्ने ४४औँ नगरसभामा पेश गरिने आर्थिक विधेयक, विनियोजन विधेयक, व्यास नगर वनसम्बन्धी विधेयकसहित संशोधन आवश्यक अन्य ऐनहरू विधायन समितिबाट प्रस्तुत प्रस्तावअनुसार पारित गरिएको छ। यससँगै आर्थिक वर्ष २०८२/०८३ को आय–व्ययको संशोधित प्रस्ताव पनि नगर कार्यपालिकाबाट अनुमोदन गरिएको छ।
प्रशासनिक सुधारतर्फ केन्द्रित हुँदै बैठकले प्रमुख प्रशासकीय अधिकृतमार्फत प्रस्तावित संगठन संरचनालाई संशोधनसहित पारित गरी आगामी नगरसभामा पेश गर्ने निर्णय गरेको छ। यसले नगरपालिकाको प्रशासनिक क्षमता र सेवा प्रवाहलाई थप चुस्त बनाउने अपेक्षा गरिएको छ।
शिक्षा क्षेत्रतर्फ नगर शिक्षा समितिबाट पारित भई नगर शिक्षा शाखा प्रमुखले प्रस्तुत गरेको विद्यालय शिक्षक–कर्मचारी दरबन्दी मिलान प्रतिवेदन तथा शिक्षक अध्ययन विदासम्बन्धी प्रस्ताव पनि संशोधनसहित स्वीकृत गरिएको छ। यस निर्णयले नगरभित्रको शैक्षिक व्यवस्थापनमा दीर्घकालीन सुधार ल्याउने विश्वास गरिएको छ।

नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष सुरेश थोसाद्वारा जारी विज्ञप्तिमा नगरसभा केन्द्रित यी निर्णयहरूले व्यास नगरपालिकाको नीतिगत स्पष्टता र विकास यात्रालाई थप सुदृढ बनाउने उल्लेख गरिएको छ।


























