
‘कुनै समय तनहुँ–लमजुङ क्षेत्रकै प्रमुख मौसमी, सांस्कृतिक र सामाजिक केन्द्रका रूपमा परिचित थियो पुतलीबजार । तत्कालीन काठमाडौँ–जुम्ला हुलाकी मार्गअन्तर्गत लमजुङ जिल्लाको सदरमुकाम कुन्छाबजार नजिकै अवस्थित यस बजारले छिमेकी जिल्लासमेतलाई आकर्षित गर्ने क्षमता राख्थ्यो । वि.सं. २०२४ सालमै कुन्छाबजारमा दूरसञ्चार सुविधा पुगेपछि त्यसको प्रत्यक्ष लाभ पुतलीबजारले पनि पाएको थियो ।’ भन्दै देव बस्न्यात लेख्छन् :

पूर्वप्रधानाध्यापक तथा समाजसेवी चन्द्रप्रकाश पौडेल साविक रुपाकोट हाल भानु नगरपालिका–११ निवासी हुनुहुन्छ । उहाँले चार दशकभन्दा बढी समय शिक्षण पेशा र सामाजिक सेवामा समर्पित जीवन बिताउनु भएको छ । उनको नजरमा पुतलीबजार को इतिवृतान्त :

पुतलीबजार कुनै समय तनहुँ–लमजुङ क्षेत्रकै प्रमुख मौसमी, सांस्कृतिक र सामाजिक केन्द्रका रूपमा परिचित थियो । तत्कालीन काठमाडौँ–जुम्ला हुलाकी मार्गअन्तर्गत लमजुङ जिल्लाको सदरमुकाम कुन्छाबजार नजिकै अवस्थित यस बजारले छिमेकी जिल्लासमेतलाई आकर्षित गर्ने क्षमता राख्थ्यो । वि.सं. २०२४ सालमै कुन्छाबजारमा दूरसञ्चार सुविधा पुगेपछि त्यसको प्रत्यक्ष लाभ पुतलीबजारले पनि पाएको थियो ।
ऋषिपञ्चमी, जनैपूर्णिमा, शिवरात्री र फागुपूर्णिमाका अवसरमा यहाँ लाग्ने मेलाले लमजुङ, तनहुँ र कास्कीका विभिन्न गाउँबाट हजारौँ मानिसहरूलाई तान्ने गर्थ्यो । मेलाका लागि हप्तौँ अघिदेखि स्याउलादार टहराहरू निर्माण गरिन्थे र पसल बुकिङका लागि व्यापारीहरू अग्रिम रूपमा पुतलीबजार आउने चलन थियो ।
पुतलीबजारको मेला बहुजातीय, बहुपेशागत र बहुसांस्कृतिक स्वरूपको प्रतीक थियो । मुस्लिम व्यापारीका श्रृङ्गार सामग्रीदेखि स्थानीय कुमालका माटोका भाँडाकुँडा, भुजेल–प्रजाका बाँस तथा बेतका सामग्री, कामी समुदायका कृषि औजार, च्याङलिङ क्षेत्रका उखुजन्य वस्तु, राइनासटारका बदाम र सखरखण्डसम्म यहाँ सजिलै पाइन्थ्यो ।

शिवरात्री र फागुपूर्णिमामा सात–सात दिनसम्म गुञ्जिने ठाडो भाका र झ्याउरे दोहोरीले पुतलीबजारलाई जीवित सांस्कृतिक रंगमञ्च बनाउँथ्यो । गीतका बोलहरू कर्पुटार र पुतलीबजारकै सेरोफेरोमा केन्द्रित हुन्थे—
“के छ र कर्पुटार, छ न पो छ पुतलीबजार” जस्ता गीतले मेलाको रौनक झनै बढाउँथे । देउबहादुर दुरा, पुतली दुरा, मैरानी दुरा, देवीबहादुर गुरुङ लगायतका स्थानीय प्रतिभाहरूको स्वरले मेलालाई स्मरणीय बनाएको पौडेल स्मरण गर्नुहुन्छ ।
चन्द्रप्रकाश पौडेलको नजरमा पुतलीबजारको अवसानका पछाडि संरचनागत र राजनीतिक दुवै कारण छन् । काठमाडौँ–पोखरा पृथ्वी राजमार्ग नेविसे–मुग्लिन–आँबुखैरेनी–डुम्रे–दमौली हुँदै पोखरा केन्द्रित भएपछि पुतलीबजार यातायातको मुख्य प्रवाहबाट अलग भयो । सुविधाको खोजीमा यहाँका बासिन्दाहरू डुम्रे, दमौली, चितवन र काठमाडौँतर्फ बसाइँ सर्न थाले ।
त्यसमा थप, १० वर्षे माओवादी जनयुद्धले स्थानीय जनजीवन झनै असुरक्षित बनायो । आफ्नै घरआँगनमा बस्न कठिन भएपछि मानिसहरू सुरक्षित र सुविधायुक्त क्षेत्रतर्फ विस्थापित भए । यससँगै पुस्तौँदेखि जोगिँदै आएका मेला, संस्कार र संस्कृति क्रमशः ओझेलमा परे ।
वि.सं. २०५५/५६ सालतिरको शिवरात्री मेलामा करिब ३०० भक्तजन कृपेश्वर महादेव मन्दिरमा भेला भएका थिए । तर, मेलाकै क्रममा भएको हुलदङ्गा—जसमा राजनीतिक प्रतिशोध र सशस्त्र समूहको संलग्नता रहेको चर्चा चल्यो—पछि पुतलीबजारको धार्मिक र सांस्कृतिक छवि गहिरो आघातमा पर्यो । स्थानीय नेतृत्वको पहलसमेत परिस्थितिलाई सहज बनाउन पर्याप्त हुन सकेन ।

पूर्व प्रधानाध्यापक पौडेलको दृष्टिमा पुतलीबजार केवल एउटा बजार होइन, यो समग्र क्षेत्रको सामाजिक स्मृति, सांस्कृतिक पहिचान र ऐतिहासिक धरोहर हो । यातायात, बसाइँसराइ र द्वन्द्वको चपेटामा परेर ओझेलमा परेको पुतलीबजार पुनर्जीवनको पर्खाइमा छ—जसका लागि इतिहासको मूल्याङ्कन र स्थानीय पहिचानको पुनर्स्थापना अपरिहार्य देखिन्छ ।
(• तनहुँ दमौलीका बस्न्यात इतिहास, परम्परा , संस्कार र संस्कृतिका विषयमा कलम चलाउँछन् । )


























