प्रहार समाचार । तनहुँ, २२ पुस २०८२ मङ्गलबार । तनहुँको भानु नगरपालिका–१ सातबोटेमा भानु संस्कार मन्टेश्वरी स्कूल स्थापना गरिएको छ । बालबालिकाको प्रारम्भिक शिक्षालाई खेल, माया र व्यवहारिक सीपसँग जोड्ने उद्देश्यका साथ यहि गत साउन महिनाबाट विद्यालय सञ्चालनमा आएको हो ।

विद्यालयले २ देखि ६ वर्ष उमेर समूहका साना बाबु–नानीलाई लक्षित गर्दै प्ले–बेस्ड लर्निङ प्रणाली अपनाउने जनाएको छ । खुला बाहिरी खेलमैदान, बालमैत्री तथा सुरक्षित वातावरण, अनुभवी र तालिमप्राप्त शिक्षक–शिक्षिकाको व्यवस्था विद्यालयका प्रमुख विशेषता रहेको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक पक्षको समग्र विकासमा विशेष ध्यान दिइनेछ । “बालमैत्री, सिपमूलक र मायालु वातावरणमा सिकाइ गराउनु हाम्रो प्राथमिकता हो,” विद्यालयकी प्रिन्सिपल निशा कंडेलले बताइन् ।

उनले प्रारम्भिक उमेरमै सही संस्कार, व्यवहार र आत्मविश्वास विकास गराउन मन्टेश्वरी पद्धति प्रभावकारी हुनेमा जोड दिइन् । “साना–साना बाबु नानीहरूको सेवा गर्दै उनीहरूको उज्वल भविष्य निर्माणमा योगदान दिन पाउनु हाम्रो लागि गौरवको विषय हो,” कंडेलले भनिन् ।

आउने सरस्वती पूजाको अवसरमा विशेष छुटसहित भर्ना कार्यक्रम सञ्चालन गरिने विद्यालयले जनाएको छ । निजी क्षेत्रमा स्थानीयस्तरमै गुणस्तरीय प्रारम्भिक शिक्षा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा आएको भानु संस्कार मोन्टेश्वरीले भानु क्षेत्रका अभिभावकका लागि नयाँ शैक्षिक विकल्प थपेको छ ।विद्यालयले सन् २०२६ का लागि भर्ना खुला गरेको जनाएको छ ।



























