प्रहार समाचार । तनहुँ, २१ पुस २०८१ सोमबार । जिल्लाको आँबुखैरेनी क्षेत्रमा प्रहरीले समाजमा बढ्दै गएको मानसिक तनाव, आत्महत्याका घटना र घरेलु हिंसाजस्ता संवेदनशील विषयलाई केन्द्रमा राख्दै लघुसचेतना कार्यक्रम सञ्चालन गरेको छ।

आँबुखैरेनी–४ बेनिटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी अस्थायी प्रहरी पोस्ट मुग्लिङका प्रहरी निरीक्षक (प्रसनि) मनबहादुर गुरुङले “आत्महत्या न्युनिकरण” सम्बन्धी लघुसचेतना कार्यक्रम सञ्चालन गरे। कार्यक्रममा मानसिक तनाव, पारिवारिक समस्या, सामाजिक दबाब तथा लागूऔषध सेवनका कारण व्यक्ति र समाजमा पर्ने नकारात्मक असरबारे यात्रुहरूलाई जानकारी दिइएको थियो। उनले समस्याको समाधानका लागि समयमै परामर्श, सहयोग र संवाद आवश्यक हुनेमा जोड दिए।

त्यसैगरी, प्रहरी चौकी डुम्रे, तनहुँका प्रहरी सहायक हवल्दार (प्रसह) सन्तोष सोडारीले डुम्रेबजार क्षेत्रमा स्थानीय बासिन्दा, विद्यार्थी तथा पैदलयात्रीहरूलाई लक्षित गरी “घरेलु हिंसा” सम्बन्धी लघुसचेतना कार्यक्रम सम्पन्न गरे। कार्यक्रममा घरेलु हिंसाका विभिन्न रूप, त्यसले परिवार र समाजमा पार्ने दीर्घकालीन असर तथा कानुनी व्यवस्था र पीडितले पाउने संरक्षणबारे जानकारी गराइएको थियो।

प्रहरीका अनुसार यस्ता लघुसचेतना कार्यक्रमले समुदायस्तरमै समस्या पहिचान गर्न, पीडितलाई आवाज उठाउन प्रेरित गर्न र हिंसा तथा आत्महत्याका घटनामा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय स्तरमै सचेतना फैलाउने उद्देश्यसहित आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रहरीको भनाइ छ।



























